‘प्रतिगामीहरू सल्बलाउने प्रयत्न गर्दैछन्, परिवर्तनकारी दृढतापूर्वक उभिनुपर्छ’

Share this
729shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ जेठ १५, बिहीबार ०७:१२

विराटनगर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गणतन्त्रको रक्षा र विकासका लागि परिवर्तनकारी शक्तिबीच सहकार्य आवश्यक रहेको बताएका छन् ।

गणतन्त्र दिवसका अवसरमा शुभकामना दिँदै उनले गणतान्त्रिक संविधानबाट प्रदत्त मौलिक हकको कार्यान्वयन गरेर फेरिएको व्यवस्थाअनुकूल नेपाली जनताको आर्थिक, सामाजिक र सांस्कृतिक जीवनमा रूपान्तरण गर्ने कार्यभार पूरा गर्नेतर्फ दलहरूको ध्यान जानुपर्ने धारणा राखेका छन्।

नेपाली जनताको वीरतापूर्ण संघर्ष र बलिदानबाट संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको १७ वर्ष पूरा भएको छ । यसले पितृसत्तात्मक जहानियाँ सामन्ती राजतन्त्रको अन्त्य गरी सम्पूर्ण उत्पीडित समुदायको अधिकारसहित राज्य सत्तामा समावेशी र समानुपातिक प्रतिनिधित्व सुनिश्चित गरेको छ,’ उनले भनेका छन्,‘यसले सयौं वर्षदेखि उत्पीडनमा पारिएका वर्ग, क्षेत्र, जाति, भाषा, धर्म, लिंग र संस्कृतिका जनसमुदायको अधिकार स्थापित गर्दै रैती वा प्रजा होइन, आम जनतालाई नागरिकको हैसियत प्रदान गरेको छ ।’

गणतान्त्रिक संविधानबाट प्रदत्त मौलिक हकको अक्षरशः कार्यान्वयन गरेर फेरिएको व्यवस्थाअनुकूल नेपाली जनताको आर्थिक, सामाजिक र सांस्कृतिक जीवनमा रुपान्तरण गर्ने कार्यभार अझै बाँकी रहेको उनले बताए ।

‘हाम्रो पार्टीको सचेत पहल र आम उत्पीडित जनसमुदायको बलिदानपूर्ण सहभागितामा सञ्चालित महान् जनयुद्धको जग तथा अन्य गणतान्त्रिक शक्तिहरूको समेत सहकार्यमा भएको ऐतिहासिक जनआन्दोलनको बलबाट गणतन्त्र स्थापना भएको तथ्य इतिहासमा स्वर्णिम अक्षरले लेखिसकिएको छ,’ उनले भनेका छन्,‘ गणतन्त्रको रक्षा, प्रयोग र विकासका लागि गणतन्त्रको जननी शक्तिलाई थप बलियो बनाउँदै गणतान्त्रिक शक्तिहरूबीचको सहकार्य मजबुत बनाउनु आजको आवश्यकता हो ।’

सरकार सञ्चालनमा देखिएका बेथितिका कारण जनतामा निराशा र असन्तुष्टि बढाउने काम भइरहेको उनले बताए । ‘अर्कोतिर त्यसलाई आफ्नो पुनरुत्थानको आधार बनाउने दिवास्वप्नका साथ प्रतिगामी तत्वहरू गणतन्त्रविरुद्ध सल्बलाउने प्रयत्न गर्दैछन्,’ उनले भने,‘यो बेलामा यथास्थिति र प्रतिगामी दुबै खाले हर्कतका विरुद्ध संघर्ष गर्दै गणतान्त्रिक व्यवस्था र अग्रगामी परिवर्तनको पक्षमा दृढतापूर्वक उभिनु सच्चा गणतान्त्रिक शक्तिहरूको कार्यभार बन्न पुगेको छ ।’

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.