
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले हुकुमी शासन व्यवस्थाबाट मुक्त भएर जनताले स्थापना गरेको गणतन्त्र अझै सुदृढ बनाउन आवश्यक रहेको बताएका छन् । आज (बिहीबार) टुँडिखेलमा आयोजित गणतन्त्र दिवस मूल समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।
उनले राज्य संयन्त्रलाई सेवा केन्द्रित बनाउन गणतन्त्रले खेलेको भुमिकालाई स्मरण गर्दै नागरिक सर्वोच्चताको सबैभन्दा ठूलो भएको बताए । उनले राज्यका अंग र जिम्मेवारीमा रहेका व्यक्तिहरुको आचरण र व्यवहारमा सुधारको आवश्यकता भएपनि राष्ट्रिय चुनौतीहरूको सामना लोकतान्त्रिक प्रणालीमार्फत मात्र गर्न सकिने जिकिर गरे ।
इतिहासमा राजतन्त्रले जनतासँग भएका सम्झौता पटक-पटक उल्लंघन गरेको स्मरण गर्दै मुकुटको आडमा जनताको सेवा नभई जनतामाथि शासन गरिएको उनले बताए ।
प्रधानमन्त्री ओलीले वर्तमान समयमा पनि नागरिक अधिकार खोस्ने प्रयास भइरहेको भन्दै सचेत रहन आग्रह गरे । जनताको हित र अभिमतभन्दा शाही इशारालाई ठुलो भन्न नसकिने उनको भनाइ छ । उनले भने, ’राज्यका अंग र अनौपचारिक क्षेत्रमा समेत जिम्मेवारीमा रहेका व्यक्तिहरुको आचरण र व्यवहारमा सुधार गर्नुपर्ने अझै धेरै कुरा हुनसक्छ । गरिबी, बेरोजगारी, भ्रष्टाचार राष्ट्रका यी चुनौतीहरु हुकुम बक्सिने एउटा मुकुटधारी खोजेर होइन लोकतान्त्रिक प्रणालीमा चुनावमार्फत इमानदार राजनीतिक शक्ति छनोट गरेर मात्र सामना गर्न सकिन्छ ।’

























