कविता : निमुखा शिक्षकको शुभकामना

Share this
716shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ जेठ १५, बिहीबार १४:४६

गणतन्त्र आयो,
तर, मैले भाव पुरानै बोकेको छु,
शब्द फेरिए, ‘सत्ता जनता’को भनिन्छ,
तर, पाठशालामा अझै नीति फेरिएन ।

म शिक्षक हुँ –
शब्द मात्रै होइन, सपनाहरू लेख्ने कर्मयोगी,
म गणतन्त्रको चेतना जगाउने गुमनाम सिपाही,
जुन राष्ट्रवाद म सिकाउँछु,
त्यही राष्ट्रवादमा मेरो श्रम हराउँछ।

म श्रम गर्छु—
बिना घन्टी घण्टाभरि पढाउँछु,
बिना थप वेतन ‘सेवा’को नाममा बाँच्दछु,
भर्ना बढाउँछु, परीक्षा चलाउँछु,
तर, अन्त्यमा प्रश्नचिन्ह ममाथि नै उठ्छ।

गणतन्त्र भनेको केवल सिंहदरबारमा कुर्सी बदल्नु होइन,
यो त गाउँको शिक्षक, किसान, मजदुर
सबैको पीडा सुन्न सक्ने कान बन्नुपर्छ ।

म राष्ट्रको मुटुमा छु—
शब्दको बिउ रोप्छु, चेतनाको पानी हाल्छु,
राष्ट्रवादको जरामा मलजल गर्छु,
शिक्षाको खेतमा।

यस गणतन्त्र दिवसमा,
म यति मात्र कामना गर्छु—
शिक्षकको श्रमलाई सच्चा सम्मान मिलोस्,
शिक्षा र राष्ट्रवाद एउटै आत्मामा बगुन्,
र गणतन्त्र पुस्तापुस्तासम्म शिक्षकको सपना पूरा गर्ने यन्त्र बनोस् ।

जय शिक्षक !
जय श्रम !
जय राष्ट्रवाद !
जय गणतन्त्र !

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.