
काठमाडौं । यस वर्षको मनसुन सरदरभन्दा १५ दिनअघि नै भित्रिएको छ । मौसम पूर्वानुमान महाशाखाले बुलेटिन जारी गर्दै बिहीबार रातिदेखि नेपालको पूर्वबाट प्रवेश गरी कोशी प्रदेशका अधिकांश भूभागमा विस्तार भएको जनाएको छ ।
कोशी प्रदेशका अधिकांश मौसम केन्द्रहरूमा हल्कादेखि मध्यम मनसुनी वर्षा भएको अवस्था छ । नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ हो । यस वर्षको मनसुन सरदर मितिभन्दा १५ दिन छिटो नेपाल प्रवेश गरेको महाशाखाले जनाएको छ ।
नेपालका अन्य भूभागहरूमा मनसुनको प्रभाव विस्तार हुन अझै केही समयमा लाग्ने देखिन्छ ।हाल देशको बाँकी भूभागमा भने पश्चिमी वायु र स्थानीय वायुको प्रभाव यथावत् रहेको देखिन्छ। महाशाखाले मौसमको अवस्थाको निरन्तर अनुगमन गरिरहेको जनाएको छ।
यो वर्ष मनसुनमा सरदरभन्दा बढी पानी पर्ने र क्षति पुग्ने पूर्वानुमान गरिएअनुसार पूर्वतयारीका लागि कार्ययोजना पारित भएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख दिनेशप्रसाद भट्टका अनुसार यो वर्ष मनसुन्जन्य विपद्बाट देशैभरि करिब ४ लाख ५७ हजार १४५ घरधुरीका १९ लाख ९७ हजार ७३१ जनसंख्या प्रभावित हुने आकलन गरिएको छ।
त्यसअनुसार कुल जनसंख्याको आधाभन्दा बढी अर्थात् १० लाख २९ हजार जना (५२ प्रतिशत) महिला प्रभावित हुने आकलन गरिएको छ। प्रभावित हुने पुरुषको जनसंख्या ९ लाख ६९ हजार जना हुनेछ।
प्राधिकरणले दुई दिनअघि सार्वजनिक गरेको मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना अनुसार यस वर्षको मनसुनबाट सबैभन्दा बढी लुम्बिनी प्रदेशवासी प्रभावित हुनेछन् । लुम्बिनीका १ लाख १९ हजार ८३० घरधुरीका ५ लाख २३ हजार ६५६ जनसंख्या र सबैभन्दा कम कर्णाली प्रदेशका २९ हजार १३२ घरधुरीका १ लाख २७ हजार ३०८ जनसंख्या प्रभावित हुनेछन् ।
बागमतीका ७४ हजार ९१४ घरधुरीका ३ लाख २७ हजार ३७६ जनसंख्या, गण्डकीका ६५ हजार ६९९ घरधुरीका २ लाख ८७ हजार १०७ जनसंख्या प्रभावित हुनेछ । यस्तै, कोशीका ६३ हजार १२७ घरधुरीका २ लाख ७५ हजार ८६७ जनसंख्या, मधेशका ५२ हजार ३३१ घरधुरीका २ लाख २८ हजार ६८७ जनसंख्या, सुदूरपश्चिमका ५२ हजार ११२ घरधुरीका २ लाख २७ हजार ७३० जनसंख्या प्रभावित हुने अनुमान गरिएको छ।

























