कोशी प्रदेशबाट १ लाख ६० हजारले लिए श्रम स्वीकृति 

Share this
692shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ जेठ १७, शनिबार ०७:४४

विराटनगर । वैदेशिक रोजगारीमा जानका लागि कोशी प्रदेशबाट १ लाख ६० हजारले श्रम स्वीकृति लिएका छन् ।

यस आर्थिक वर्षको साउनदेखि वैशाखसम्ममा १ लाख ६० हजार ६ सय ७२ जनाले श्रम स्वीकृति लिएको सुरक्षित आप्रवासन (सामी) कार्यक्रम मोरङका संयोजक दीपक राउतले जानकारी दिए ।

नेपालबाट प्रति वर्ष करिब ५ लाखभन्दा बढी श्रम शक्ति श्रम बजारमा प्रवेश गर्ने गरेका छन् । देशमा सीमित रोजगारीका अवसर, गरिबीलगायतका कारण वैदेशिक रोजगारीमा जान बाध्य भएको बताइएको छ ।

नेपालबाट श्रम स्वीकृत लिएर वैदेशिक रोजगारमा जानेको संख्या हालसम्म ८२ लाख नाघिसकेको छ । दैनिक सरदर २ हजार बढी वैदेशिक रोजगार जाने गरेको वैदेशिक रोजगार विभागको तथ्यांकले देखाएको छ ।

सामीका कार्यक्रम संयोजक राउतले वैदेशिक रोजगारमा जाने संख्याको करिब २१.८२ प्रतिशत संख्या कोशी प्रदेशबाट रहेको बताए ।

उनका अनुसार मोरङबाट मात्रै गत वर्ष ३१ हजार ९७ जनाले वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएका छन् ।

जसमा पुरुष २६ हजार ५ सय ८८ र महिला ४ हजार ५ सय ९ जना छन् । मोरङबाट चालु आर्थिक वर्षको हालसम्म २७ हजार ५ सय ४० ले श्रम स्वीकृति लिएको कार्यक्रम संयोजक राउतले बताए ।

पछिल्लो ३ वर्षमा कोशी प्रदेशबाट वैदेशिक रोजगारीमा गएकाहरू मध्ये ७ सय ७४ जनाको मृत्यु भएको छ ।

आर्थिक वर्ष २०७९ / ८० मा  २ सय ९६ जना, आ.व. २०८० / ०८१ मा ३ सय २३ जना, आ.व. २०८१ / ०८२ को पुससम्म १ सय ५५ जनाको मृत्यु भएको वैदेशिक रोजगार विभागको तथ्यांकमा उल्लेख छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.