
कथन सुनेथें
ती आमाहरुले कि
जब आफू जन्मदाता बन्ने छौ
तब
‘आमा’ हुनुको मर्म बुझ्नेछौ
चट्टान समान शरीर
महिनौंसम्म थेग्नु छ
जब गर्भको अंश बढ्दै जान्छ
तब
नौलो पीडाको आभास बढ्दै जान्छ्
सुन्निएका पैतालाहरु भोग्नु छ
आफ्नै अस्तित्व लुटाएर
अनुहारमा लागेको कालो दाग
हेरेर कुरुप देख्छौ
तर म भित्रको मान्छे हुर्कँदाको खुशी किन देखेनौ?
वेदना समेट्ने ममताको कोख
अनिँदो रात र शरीर फेरिँदै जाँदा
असन्तुलित बन्दै गएको मेरो शरीर
कुरुप मात्रै देख्यौ ।
मभित्र उदाएको सूर्य
म भित्रको धर्ती
र म भित्रको सृष्टि किन देख्दिनौ
म तिम्रो जन्मदाता हो
जसले कसैको हवस पूर्तिको लागि
आफ्नो अस्तित्व जलाएर
गर्भमा जन्म स्वीकारेकी छ
के बलात्कृत हुनु
र कलंकित हुनु कसैको रहर हुन्छ र ?
हो म आज बुझ्न सक्ने भएँ
कि आमा हुनुको अर्थ ?
मैले जान्न सकें
अस्तित्व लुटाएर आमा बन्नुको अर्थ
जो अर्थ तिमीले कहिल्यै बुझ्न सक्दैनौं !!



















