
विराटनगर । मनसुनको सुरुवाती दिनमै कोशी प्रदेशका विभिन्न स्थानमा क्षति पुग्न थालेको छ । कतिपय स्थानमा भारी वर्षा भएकाले सडक क्षतिग्रस्त बनेका छन् । गाउँ बस्तीमा भलबाढी पसेर बिजोग हुन थालेको छ ।
जल तथा मौसम विज्ञान विभागले सूचना जारी गर्दै वर्षा हुने क्रम बढ्दै जाने भएकाले सतर्कता अपनाउन आग्रह गरेको छ ।
इलाम, झापा, मोरङ, सुनसरी र धनकुटाका धेरै स्थानमा भारी बर्षा मापन भएको विभागले जनाएको छ । थप वर्षा हुने सम्भावना रहेको पनि जनाइएको छ ।
मेची, विरिङ, निन्दा, कन्काई, चिसाङखोला, मावा रतुवा, लोहन्द्रा, बक्राहा, नुनखोला लगायत अन्य साना खोलामा सतर्कता तह आसपासको बाढी आउन सक्ने सम्भावना रहेको भन्दै सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।
यो वर्ष सरदरभन्दा बढी पानी पर्ने
जलवायु तथा विपतविद् धरमराज उप्रेतीका अनुसार यो वर्ष सरदरभन्दा बढी वर्षा हुने भनिएका क्षेत्रहरुमा विशेष सतर्कता अपनाउनु पर्ने देखिएको छ । ‘बेलैदेखि सतर्क भइयो भने क्षति कम हुन सक्छ’ मुलुकी खबरसँग कुरा गर्दै उनले भने, ‘खासगरी नदी र खोला तटीय क्षेत्रका गाउँ बस्तीहरु बढी जोखिममा छन् ।’
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजानिक गरेको ‘मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना, २०८२’ अनुसार यस वर्षको मनसुनबाट सबैभन्दा बढी लुम्बिनी प्रदेशबासी प्रभावित हुने देखिएको छ ।
यो वर्ष लुम्बिनीमा १ लाख १९ हजार ८३० घरधुरीका ५ लाख २३ हजार ६५६ जनसंख्या र सबैभन्दा कम कर्णाली प्रदेशका २९ हजार १३२ घरधुरीका १ लाख २७ हजार ३०८ जनसंख्या प्रभावित हुने प्राधिकरणले जनाएको छ ।
बागमती प्रदेशका ७४ हजार ९१४ घरधुरीका ३ लाख २७ हजार ३७६ जनसंख्या, गण्डकी प्रदेशका ६५ हजार ६९९ घरधुरीका २ लाख ८७ हजार १०७ जनसंख्या, कोशीका ६३ हजार १२७ घरधुरीका २ लाख ७५ हजार ८६७ जनसंख्या, मधेश प्रदेशका ५२ हजार ३३१ घरधुरीका २ लाख २८ हजार ६८७ जनसंख्या, सुदूरपश्चिम प्रदेशका ५२ हजार ११२ घरधुरीका २ लाख २७ हजार ७३० जनसंख्या प्रभावित हुने पुर्वानुमान गरिएको छ ।
करिब ४ चार महिनाको अवधिमा देशैभर मनसुनजन्य विपद्बाट करिब ४ लाख ५७ हजार १४५ घरधुरीका १९ लाख ९७ हजार ७३१ जनसंख्या प्रभावित हुने आकलन छ ।

यसैगरी मनसुनजन्य विपद्बाट कुल जनसंख्याको आधाभन्दा बढी अर्थात १० लाख २९ हजार जना (५२ प्रतिशत) महिला प्रभावित हुने आँकलन गरिएको छ । भने प्रभावित हुने पुरुषको जनसंख्या ९ लाख ६९ हजार जना छ ।
यस्तै, प्रजनन उमेर समूहका ३६ हजार महिला, ४८ हजार जना अपांगता भएका, १ लाख ६४ हजार जना बालबालिका र ४ लाख १५ हजार जना जेष्ठ नागरिक प्रभावित हुनेछन् ।
सामान्यतयाः देशभर बार्षिक रुपमा हुने कुल बर्षामध्ये ८० प्रतिशत मनसुनको ४ महिना जेठ १८ देखि असोज १४ को अवधिमा र २० प्रतिशत वर्षा बाँकी ८ महिनामा हुन्छ । यस वर्षको मनसुनमा सरदरभन्दा बढि पानी पर्ने र क्षति पुग्ने पूर्वानुमान गरिएअनुसार पुर्वतयारीका लागि कार्ययोजना पारित गरिएको प्राधिकरणका कार्यकारी प्रमुख एवं कार्यकारी समितिका सदस्य सचिव दिनेशप्रसाद भट्टले बताएका छन् ।
यस बर्षको मनसुनमा कर्णाली प्रदेशको पूर्वी भूभाग, लुम्बिनीको उत्तरी भूभाग र गण्डकी प्रदेशको अधिकांश भूभागमा सरदर भन्दा बढी वर्षा हुने सम्भावना ५५ देखि ६५ प्रतिशत छ ।
सुदूरपश्चिमको दक्षिणी भुभाग, लुम्बिनीको पश्चिमी भुभाग, गण्डकीको उत्तर पुर्वी भूभाग, बागमती र कोशीको उत्तरी भुभागमा सरदर भन्दा बढी बर्षाको सम्भावना ४५ देखि ५५ प्रतिशत छ भने देशका बाँकी भूभागमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना ३५ देखि ४५ प्रतिशत छ ।
५ सय वटा जोखिम न्यूनीकरण पूवर्तयारी तथा प्रतिकार्यका लागि विपद् विशिष्टिकृत इकाइहरु राखिएको जनाइएको छ । खोज तथा उद्धारका लागि १० हजार ८५ जना प्रहरी जनशक्ति तयारी अवस्थामा रहने छन् । २७७ वटा हेभी इक्यिुप्मेन्ट र १२ वटा बेलिब्रिज तयार गरिएको जनाइएको छ ।

देशभर विपद् व्यवस्थापन कोषमा ४ अर्ब ६५ करोड २४ लाख १८ हजार २८६ रुपैयाँ मौज्दात रहेको छ । प्रधानमन्त्री दैवी प्रकोप कोषमा १ अर्ब ८९ करोड २९ लाख ७२ हजार, केन्द्रीय विपद् व्यवस्थापन कोषमा १ अर्ब २७ करोड ४७ लाख ७३ हजार, प्रदेश विपद् व्यवस्थापन कोषमा ७९ करोड ४१ लाख २९ हजार, जिल्ला विपद् व्यवस्थापन कोषमा ६९ करोड ५ लाख ४३ हजार रुपैयाँ मौज्दात छ ।
बाढीपहिरो लगायत मनसुनजन्य विपद् सचेतना सामग्रीहरुको प्रचारप्रसार गर्ने, सम्भावित संक्रामक रोगहरुका बारेमा पूर्वसूचना सम्प्रेषण गर्ने, टेलिफोन टावरहरुमा बाढी पहिरोका कारण क्षति पुगेमा मोबाइल टावरको व्यवस्था गर्ने पूर्वतयारी गरिएको छ ।
जल तथा मौसम विज्ञान विभागले २४ सै घण्टा मौसम कक्ष सञ्चालन गर्ने भएको जनाइएको छ । मौसमको विशेष अवस्थामा आकस्मिक मौसम बुलेटिन, तीन दिने तथा भारी, धेरै भारी र अति भारी वर्षाको बिशेष स्थितिमा पाच दिने मौसम पूर्वानुमान बुलेटिनहरु जारी गर्ने, बाढी सतर्कताका लागि मुख्य नदी जलाधारका सर्वसाधारणहरुलाई मोबाइलमा पूर्वचेतावनीको सन्देश पठाउने, बाढी पूर्वसूचना प्रदान गर्ने उदेश्यले मनसुनभर सर्वसाधारणका लागि ११५५ नम्बरको टोल फ्री सेवा सञ्चालन गर्ने भएको छ ।

मनसुनको बेला तत्काल उद्धार तथा राहत कार्य सञ्चालन गर्न कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका लागि सुर्खेतमा नेपाली सेनाको एउटा पश्चिम एयर बेस हेलिकप्टर, बागमती, गण्डकी, मधेश र कोशी प्रदेशका लागि काठमाडौंमा अर्को मध्य एयर बेश हेलिकप्टर तयारी अवस्थामा रहनेछन् ।
तत्काल उद्धारका लागि खबर आएको १५ मिनेटभित्रमा परिचालन गर्न सक्नेगरी काठमाडौंको गौचर ब्यारेकमा हवाई साधन तयारी अवस्थामा राखिएको छ । पानीमा उद्धारमा खटिनका लागि तालिम प्राप्त २७६ र पौठिन जान्ने २ हजार ८२३ जना प्रहरी जनशक्ति छन् ।
समुदायस्तरमा विपद् सम्बन्धी सूचना प्राप्त गर्ने उद्देश्यले असार मसान्तभित्र हरेक वडाबाट २५ जनाका दरले देशैभरबाट १ लाख ६८ हजार ५७५ जना विपद् सूचक तयार गर्ने भएको छ । समुदायस्तरमा विपद् प्रतिकार्यका लागि ३ हजार ६७५ स्वयवंसेवक तयार गर्ने योजना रहेको जनाइएको छ ।
























