
काठमाडौं । सार्वजनिक यातायात व्यवसायीहरु आन्दोलनमा उत्रिएका छन् । उनीहरुले विभिन्न ७ बुँदे माग राखेर आज (शनिबार) देशभर १ घण्टा चक्काजाम गरेका छन् ।
यातायात व्यवसायीले सवारी ऐन २०४९ को परिच्छेद २ को दफा ८ को २ र दफा १२ को १ विपरीत संघीय ऐनसँग बाझिने गरी सातै प्रदेश सरकारहरूले ऐन ल्याउने तयारी गरेको र गण्डकी प्रदेश सरकारले २०८२–२–१ गते राजपत्रमा प्रकाशित गरी निजी सवारी साधन (रातो प्लेट) लाई भाडाको सवारी (कालो प्लेट) सरह सञ्चालन गर्न लागेकोले आन्दोलनमा उत्रिएको बताएका छन् ।
यसैगरी, सर्वाेच्च अदालतबाट संघ संस्था दर्ता ऐन २०३४ मा रहेका संघ तथा समिति नवीकरण, सम्पत्ति फुकुवाको २०८० चैत २० गतेको परमादेश अहिलेसम्म गृह मन्त्रालयले लागु नगरिएको उनीहरुको भनाइ छ ।
सवारी ऐन २०४९ संशोधनको क्रममा रहेको अवस्थामा नेपाल सरकारसँग यातायात व्यवसायी महासंघहरू र मजदुर संघ संगठनहरूसँग विभिन्न मितिमा भएको सम्झौता सहमतिहरू र नेपाल सरकारबाट गठित विभिन्न कार्यदलका सुझाव प्रतिवेदनहरू कार्यान्वयन नगरी सार्वजनिक यातायात क्षेत्र सरकारले अस्तव्यस्त पारेको उनीहरुले आरोप लगाएका छन् ।
मालवाहक सवारी साधनको भारवहन नियमन सम्बन्धी निर्देशिका २०७४ को दफा १३ अनुसार स्वदेशी तथा विदेशी सवारी साधनको भारवहन क्षमता कडाइका साथ लागु नगरी ट्राफिक प्रहरी र यातायात कार्यालयको मौन समर्थनमा जरिवानामा मात्र ध्यान दिइ सडक संरचना बिग्रने र अत्यधिक दुर्घटना वृद्धि भएको समेत व्यवसायीको भनाइ छ ।

























