
विराटनगर । नेपालमा मनसुन भित्रिएको दोस्रो दिन अविरल वर्षासँगै आएको बाढीले कोशी प्रदेशका ६ जिल्ला प्रभावित बनेका छन् । बाढीले विभिन्न स्थानमा सडक, बस्ती तथा पुलमा क्षति पुर्याएको छ ।
वर्षाले मोरङ, सुनसरी, धनकुटा, इलाम, झापा र उदयपुर जिल्लामा क्षति पुर्याएको हो । लेउती खोलामा शनिबार बिहान आएको बाढीले कोशी लोकमार्गअन्तर्गत धनकुटाको साँगुरीगढी गाउँपालिका– ६ फेदी भन्ने स्थानमा करिब सय मिटर कालोपत्रे सडक बगाएको छ । बिहानको बाढीले बगाएको सडक ‘डाइभर्सन’ बनाएर एकतर्फी रुपमा सुचारु गरिएको जिल्ला प्रहरी कार्यालय धनकुटाका निमित्त प्रवक्ता, इन्स्पेक्टर ध्रुवनारायण श्रेष्ठले जानकारी दिए ।

शनिबार नै आएको पहिरोले कोशी लोकमार्गको धनकुटा साँगुरीगढी–६ नमस्ते झरना छेउमा पनि सडक अवरुद्ध भएको थियो । अवरुद्ध भएको सडक सुचारु भएको छ । छरुवा खोलामा आएको बाढीका कारण तमोर करिडोरअन्तर्गत धनकुटाको चौबिसे गाउँपालिका– ४ मा पनि सडक अवरुद्ध भएको छ ।
लेउतीले कटान गरेको क्षेत्रको कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारीले अनुगमन गरेका छन् । कोशी प्रदेश सरकारको तर्फबाट उनले निरीक्षण गरेका हुन् ।
बस्तीमा केसलिया
केसलीया खोलामा आएको बाढी विराटनगरको बस्तीमा पसेको छ । केसलीयाको बाढी विराटनगर महानगरपालिका– ६ मा कटान गर्दै बस्तीमा पसेको हो । बाढीले कटान गरेको क्षेत्रमा महानगर प्रहरीले अस्थायी बाँध बनाएर रोकथामको प्रयास गरेका छन् ।
झापामा उस्तै
वर्षासँगैको बाढीले पूर्वपश्चिम राजमार्गअन्तर्गतको झापा खण्डमा ३ वटा ‘डाइभर्सन’ बगाएको छ । निर्माणाधीन राजमार्गको मेचीनगर नगरपालिका क्षेत्रमा ‘डाइभर्सन’ बगाएको हो ।
काँकडभिट्टा–लौकही सडक योजना कार्यालयका आयोजना प्रमुख इञ्जिनियर सुनीलबाबु पन्तका अनुसार मेचीनगरको काँकडभिट्टास्थित कालीखोला, धुलाबारीको ढुकुरे खोला र चारआलीको ‘एनिमल अन्डरपास’को ‘डाइभर्सन’मा बाढीले क्षति पुर्याएको छ ।

बाढीका कारण शनिबार बिहान केही समय पूर्व–पश्चिम राजमार्गमा यातायात अवरुद्ध भएको थियो । वर्षा रोकिएर पानीको सतह कम भएपछि स्थानीय प्रशासनले ‘डाइभर्सन’ मर्मत गरी एकतर्फी रुपमा यातायात सुचारु गरेको छ । तर, फेरि वर्षा भए यातायात अवरुद्ध हुने जोखिम छ ।
माईखोलामा आएको बाढी झापा गाउँपालिका– २ को बस्तीमा पस्दा २२ परिवार विस्थापति भएका छन् । झापा प्रहरी प्रमुख एसपी राजन लिम्बूका अनुसार बाढी पसेपछि नदी किनारका २२ परिवार विस्थापित भएका हुन् । उनीहरुलाई सुरक्षित स्थानमा सारिएको लिम्बूले बताए ।
झापामै बाढीले बगाएर ल्याएको अवस्थामा १ जनाको शव फेला परेको छ । सिद्दी खोलाको मेचीनगर नगरपालिका– १ सुनारे टोल खण्डमा ५६ वर्षीय भगिरथ तामाङको शव फेला परेको हो । उनी इलामको रोङ गाउँपालिका– ६ का बासिन्दा रहेको प्रहरीले जनाएको छ ।
इलामको निर्माणाधीन पुलमा क्षति
अविरल वर्षासँगै कुमाले खोलामा आएको बाढीले इलामको चुलाचुली गाउँपालिका – १ मा निर्माणाधीन पुलमा क्षति पुर्याएको छ । शनिबार बिहान कुमाले खोलामा आएको बाढीले निर्माणाधीन अवस्थामा रहेको पक्की पुलको संरचना बगाएको छ ।
पुल ढलानका लागि तयार गरिएको ‘सेट्रिङ’को बीच भाग बाढीले भत्काएको थियो । बाढीका कारण निर्माणाधीन पुलको संरचना दबेको छ । क्षतिको विवरण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

इलामको माई नगरपालिका–७ मा महमाई–इलाम–लारुम्बा पक्की सडक खण्डमा पहिरो खसेको छ । त्यहाँ एकतर्फी रुपमा मात्र यातायात सञ्चालन भइरहेको प्रहरीले जनाएको छ ।
सुनसरीको बराहक्षेत्र नगरपालिका– १ नयाँ पुल खोलामा पहिरो झर्दा चतरा–बराहक्षेत्र सडक खण्ड अवरुद्ध भएको छ । उदयपुरमा बेलका नगरपालिका–८ कोठु खोलामा कच्ची सडक खण्डमा पहिरो झर्दा मैनामैनी–चुहार–भोजपुर सडक अवरुद्ध बनेको छ ।
सतर्कता अपनाउन आग्रह
जल तथा मौसम विज्ञान विभागले सूचना जारी गर्दै वर्षा हुने क्रम बढ्दै जाने भएकाले सतर्कता अपनाउन आग्रह गरेको छ । शनिबार इलाम, झापा, मोरङ, सुनसरी र धनकुटाका धेरै स्थानमा भारी वर्षा मापन भएको विभागले जनाएको छ । थप वर्षा हुने सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरेको हो ।
जलवायु तथा विपतविद् धरमराज उप्रेतीका अनुसार यो वर्ष सरदरभन्दा बढी वर्षा हुने अनुमान छ । जसका कारण नदी तटीय क्षेत्रका नागरिकले विशेष सतर्कता अपनाउनु पर्नेछ ।
यो वर्ष वर्षाका कारण कोशी प्रदेशका ६३ हजार १ सय २७ घरधुरीका २ लाख ७५ हजार ८ सय ६७ मानिससहित देशभर ४ लाख ५७ हजार १ सय ४५ घरधुरीका १९ लाख ९७ हजार ७ सय ३१ जनसंख्या प्रभावित हुने आकलन छ । अधिक वर्ष हुने भएकाले पूर्व तयारी अपनाउन पनि मौसमविदले आग्रह गरेका छन् ।
सरकारको तयारी के छ ?
कोशी प्रदेश सरकारले बाढी, पहिरोजस्ता विपद् व्यवस्थापनका लागि पूर्वतयारी स्वरुप नक्सांकन अनुसार काम सुरु गरेको छ । प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले सरकारले तयारी सुरु गरेको बताए ।
उनका अनुसार विज्ञहरूको सुझाव र प्रतिवेदनको अध्ययन गरी विपद् प्रतिकार्य र पुनर्निर्माणका लागि बजेट छुट्याइएको छ । स्थानीय तहसँग समन्वय गरी काम अगाडि बढाइएको भण्डारीले बताए ।


























