
विराटनगर । सहारा एनिमल केयरकी संस्थापक डा. रश्मी थापाले विराटनगर महानगरपालिकाले सामुदायिक कुकुर बन्ध्याकरण कार्यक्रमको बजेट अझै भुक्तानी नगरेको गुनासो गरेकी छन् ।
उनले आज (सोमबार) पत्रकार सम्मेलन गर्दै महानगरले ३ लाख रुपैयाँ दिन बाँकी रहेको जानकारी दिइन् । उनका अनुसार महानगरले ४ सय सामुदायिक कुकुर बन्ध्याकरणका लागि १० लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । त्यस क्रममा २ सय कुकुरको मात्रै बन्ध्याकरण गरिएको थियो । त्यसका लागि ५ लाख रुपैयाँ दिनुपर्ने भए पनि संस्थालाई २ लाख मात्र भुक्तानी गरिएको थापाको भनाइ छ ।
‘१० लाख बजेट हुँदा कागजपत्र मिलाउन गाह्रो हुन्छ भनेर ५ लाखमा सीमित गरिएको थियो । हामीले त्यही अनुसारको काम गर्यौं’ उनले भनिन्, ‘तर ३ लाख रुपैयाँ अझै पाउन सकिएको छैन ।’
२०८१ साल जेठ महिनामा महानगरसँगको समन्वयमा गरिएको शिविरको रकम भुक्तानी हुन बाँकी रहेको उनको दाबी छ । यस्तै, डा. थापाले महानगरले सञ्चारकर्मीमार्फत् दिएको प्रतिक्रिया र विभिन्न अनलाइनमा प्रकाशित समाचारप्रति आपत्ति जनाउँदै ती भ्रामक र एकतर्फी भएको बताएकी छन् । उनले ३ वर्षअघिको कार्यक्रमको फोटो प्रयोग गरी हालको विषयसँग जोडेर संस्थाको छवि बिगार्ने प्रयास भएको आरोप समेत लगाइन् । ‘काम गरिरहेकालाई हतोत्साहित गर्न खोजिएको छ’, उनले भनिन् ।
विवाद कसरी बढ्यो ?
जेठ ९ गते विराटनगर–१९, मिलन चोकमा महानगर र हिमालयन एनिमल रेस्क्यु ट्रस्ट पोखराको समन्वयमा सञ्चालित बन्ध्याकरण शिविरमा लापरवाही भएको स्थानीयको सूचनाका आधारमा उनीहरू पुगेका थिए ।
सुरक्षाको मागसहित जनावरप्रति उत्तरदायी हुन अनुरोध गरेपछि कार्यक्रम केही समयका लागि स्थगित गरिएको थियो । तर सोही दिन ५६ वटा कुकुरको शल्यक्रिया सम्पन्न गरिएका उनले बताइन् ।
उनका अनुसार स्वास्थ्य मापदण्ड पालना नभएको, कुकुरलाई होस आउन १६–२० घण्टा लाग्ने जस्ता विषयमा चासो राख्दा पनि समन्वय नहुने अवस्था देखिएको थियो ।
सोही विषयमा जेठ १० गतेको छलफलमा सहारा एनिमल केयरका प्रतिनिधिलाई बोल्न नदिइएको र मेयर नागेश कोइराला र कर्मचारीले रुखो व्यवहार गरेको आरोप उनीहरुको छ । ‘हामीले प्रतिरोध गरेको होइन, जनावरको जीवनको सुरक्षाका लागि कुरा गरेका हौं तर प्रतिक्रिया दिन समेत अवसर दिइएन,’ उनले भनिन् ।
महानगरबाट अपेक्षित सहयोग नपाएको अवस्थामा एनएमबी बैंकको सहकार्यमा सहाराले १ सय ५० वटा कुकुरको निःशुल्क बन्ध्याकरण कार्यक्रम सञ्चालन गरेको थापाले जानकारी दिइन् ।
‘हामीले कुकुरको जीवन, स्वास्थ्य र सुरक्षालाई प्राथमिकतामा राखेर काम गर्दै आएका छौं’ उनले भनिन् ‘हाम्रा सबै कार्यक्रम पशुहितमै केन्द्रित छन् ।’ उनले पशु सेवा क्षेत्रमा पारदर्शिता, उत्तरदायित्व र नीति निर्माणमा स्पष्टता आवश्यक रहेको धारणा समेत राखेकी छन् ।
के भन्छ महानगर ?
विराटनगर महानगरपालिकाका कृषि तथा पशुपक्षी शाखा संयोजक हिरालाल यादवले यो विषय शुभनारायण यादवसँग सम्बन्धित भएको बताएका छन् । यादवसँग सम्पर्क गर्दा उनले सहारा एनिमल केयरले पाउने सबै रकम प्राप्त गरिसकेको दाबी गरे ।
‘मापदण्डअनुसार काम नभएकाले यो पटक बजेट रोकिएको हो,’ उनले भने। ३ वर्ष अघिको कामका सन्दर्भमा मिडियामा प्रतिक्रिया दिएको विषयमा उनले भने, ‘त्यो बेला त्यस्तै गर्नुभयो नि त ।’
सहारा संस्थाका प्रतिनिधिलाई महानगरले दुर्व्यवहार नगरेको दाबी पनि उनको छ । मेयर कोइराला र डा. थापा बीचको भनाभनको भिडियो सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक भइसकेको छ ।























