
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)ले गृहमन्त्री रमेश लेखकको राजीनामा मागको अडानलाई कायमै राखेको छ ।
माओवादीले पहिलो सर्त नै लेखकको राजीनामा भएको स्पष्ट पारेको छ । गृहमन्त्रीको राजीनामा माग्दै माओवादीले संसद अवरोध गरिरहेको विषयमा छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा प्रमुख ३ दलको बैठक सोमबार साँझ सिंहदरवारमा बसेको थियो ।
उक्त बैठकमा माओवादीले भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखकले मार्ग प्रशस्त गर्नुपर्ने अडान दोहोर्यायो । माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले बैठकमा सुशासनका निम्ति गृहमन्त्रीले मार्ग प्रशस्त गर्नुपर्ने अडान राखिएको जानकारी दिए ।
बैठकमा संसदको गतिरोध अन्त्य गर्ने र प्रतिगामी शक्तिहरूको गतिविधिका विषयमा छलफल भएको उनको भनाइ छ । भिजिट भिसा प्रकरणमा कर्मचारीहरू मुछिएको भन्दै बैठकमा प्रधानमन्त्री ओलीले त्यसकै कारण गृहमन्त्रीले राजीनामा दिन नपर्ने र राजीनामातिर नलाग्न माओवादीलाई आग्रह गरेका थिए ।
पाण्डेका अनुसार प्रधानमन्त्रीले राजीनामातिर नलागेर संसद सुचारु गर्नलाई सहयोग गर्न आग्रह गरेको बताए । तर, आफूहरुले अडान नछाडेको उनको भनाइ छ ।
प्रधानमन्त्रीका विज्ञ सल्लाहकार अग्नि खरेलले भने छलफल सकारात्मक भएको प्रतिक्रिया दिएका छन् । मंगलबारदेखि संसद खुल्नेमा आफूहरू ढुक्क भएको उनको भनाइ छ ।
माओवादीले संसद बैठक बस्नुअघि प्रतिपक्षी दलहरूसँग छलफल गर्ने भएको छ । राजावादीका नाममा भइरहेका गतिविधिविरुद्ध संविधान पक्षधर एक भएर अघि बढ्ने विषयमा समेत बैठकमा छलफल भएको थियो ।
























