मनसुनजन्य विपद जोखिम कम गर्न १७ हजारभन्दा बढी जनशक्ति परिचालन हुने

Share this
633shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ जेठ २०, मंगलबार १७:१८

काठमाडौं । सरकारले मनसुनजन्य विपद् जोखिम न्यूनीकरणका लागि १७ हजार ७ सय जनशक्ति परिचालन गर्ने भएको छ । यो नेपाली सेनाभन्दा बाहेकको संख्या हो ।

आज (मंगलबार) सिंहदरबारमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पत्रकार सम्मेलनमार्फत यसबारे जानकारी गराएको हो ।

प्राधिकरणका प्रवक्ता उपसचिव रामबहादुर केसीले मनसुनजन्य विपद् न्यूनीकरण, विपद्पछि हुने राहत, उद्धारका लागि नेपाल प्रहरीबाट १० हजार ८५ र सशस्त्र प्रहरी बलबाट ७ हजार ६ सय १५ जनशक्ति तयारी अवस्थामा राखेको बताए ।

उनले नेपाली सेनाले पनि सोहीअनुसार जनशक्ति तयार पारेको बताए । सोहीअनुसारको उपकरणहरु पनि तयारी अवस्थामा रहेको उनको भनाइ छ ।

सीमित स्रोत साधनका कारण यो अवस्था आउनसक्ने उनले बताए । सीमित स्रोत साधनलाई अधिकतम उपयोग गर्ने र विगतका वर्षहरुबाट पाठ सिक्दा सीमित स्रोत साधनका कारण सुरक्षा निकायले चाहेर उद्धार, खोज गर्न नसक्ने स्थिति रहेको उल्लेख गरे ।

सुरक्षा निकायसँग रहेको प्रविधि, खोज सामग्रीहरु, जनशक्ति अभाव रहेकाले त्यसलाई पूर्ति गर्नुपर्ने आवश्यकता रहेको पनि उनले उल्लेख गरे ।

मनसुन प्रतिकार्य कमाण्ड पोस्टको कार्य जिम्मेवारी विगतमा स्पष्ट नरहेकाले यस वर्ष कार्य जिम्मेवारी स्पष्ट गरिएको जनाइएको छ । मनसुन प्रतिकार्य कमाण्ड पोस्ट केन्द्रमा मात्र नभइ प्रदेश, जिल्ला, स्थानीय तहमा रहने छन् ।

प्राधिकरणका अनुसार विगत १० वर्षमा नेपालमा ८ हजार ४ सय १८ वटा विपद्जन्य घटना भएका छन् । जसबाट २ हजार ३ सय १७ जनाको निधन भएको छ । त्यस्तै, ४ सय १९ जना बेपत्ता भएका छन् भने २ हजार ६ सय ४९ जना घाइते भएका छन् ।

गत वर्षको मनसुनमा ७७ वर्षयताकै सबैभन्दा ठूलो वर्षा भएको थियो । असोज १० देखि १३ गतेसम्मको अवधिमा २ सय ५० जनाको मृत्यु भएको छ ।

४५ अर्ब बराबरको सोही अवधिमा क्षति भएको थियो । गत वर्षमात्रै २ हजार १ सय ३८ वटा विपद्जन्य घटनाबाट ४ सय ९५ जनाको ज्यान गएको थियो । ६६ जना बेपत्ता भएका थिए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.