
विराटनगर । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) जिल्ला कार्य समिति तेह्रथुमले २ लाख रुपैंयाँको पुरस्कार कोष स्थापना गरेको छ ।
आज (मंगलबार) सदरमुकाम म्याङलुङस्थित रेडियो मेन्छ्यायेमको सभाहलमा आयोजित कार्यक्रममा ‘ताराबहादुर कन्दङवा फोनिज पत्रकारिता पुरस्कार’ घोषणा गरिएको हो ।
उक्त कोषको व्याजबापत आउने रकमबाट हरेक वर्ष ‘फोनिज डे’ को दिन तेह्रथुममा रहेर सक्रिय पत्रकारिता गर्दै आएका १ जना फोनिजकर्मीलाई सम्मानपत्रसहित १० हजार रुपैंयाँ राशीको उक्त पुरस्कार प्रदान गरिने छ ।
पुरस्कार कोष स्थापनाका लागि तेह्रथुमको आठराई गाउँपालिका–७थोक्लुङ घर भई हाल यूकेमा रहेका समाजसेवी ताराबहादुर कन्दङवाले सहयोग गरेको फोनिज तेह्रथुमका अध्यक्ष वविता राईले बताइन् ।
तत्कालका लागि २ लाख रुपैयाँको उक्त कोष तेह्रथुम सदरमुकाम म्याङलुङमा नामी सहकारीको रुपमा चिनिएको सहयोगी बचत तथा ऋण सहकारी संस्थामा राखिएको अध्यक्ष राईले जानकारी दिइन् ।
उक्त पुरस्कार आउँदो साउन २७ गते २६ औं ‘फोनिज डे’ को अवसर पारेर वितरण गरिनेछ। कोषको ब्याज बापतको पहिलो वर्षको रकम आगामी वर्ष मात्र आउने भए पनि कार्यसमितिले आन्तरिक व्यवस्थापन गरी पुरस्कार भने यसै वर्षदेखि वितरण गरिने अध्यक्ष राईको भनाई छ ।























