
काठमाडौं । यातायात व्यवसायीहरूले भोलि (बुधबार) देखि आन्दोलन थप चर्काउने भएका छन् । सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समितिले विज्ञप्ति जारी गर्दै संघीय सरकारसँग भएको सहमति कार्यान्वयन नभए आन्दोलन सशक्त बनाउने जनाएको छ ।
उक्त सहमतिअनुसार गण्डकी प्रदेश सरकारले कार्यान्वयन नगरेमा बुधबारदेखि आन्दोलन थप सशक्त रूपबाट अघि बढाइने समितिले जनाएको छ ।
समिति अध्यक्ष विजयबहादुर स्वारद्धारा हस्ताक्षरित विज्ञप्तिमा यस्तो जनाइएको हो । सरकारसँग वार्ता र संवाद भइरहेको हुँदा आन्दोलन निरन्तर रहेकोले कुनै भ्रममा नपर्न आग्रह समेत गरिएको छ ।
यातायात व्यवसायीहरूले सोमबारदेखि सार्वजनिक सवारी साधन घर, ग्यारेजमा थन्काएर गण्डकी प्रदेशले ल्याएको राइड सेयरिङको विरोध गरिरहेका छन् ।

























