विभेद र विकृतिपूर्ण संस्कारको अन्त्य गर्दै अगाडि बढ्नुपर्छ : मुख्यमन्त्री कार्की

Share this
707shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ जेठ २१, बुधबार १०:५३

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विभेद र विकृतिपूर्ण संस्कारको अन्त्य गर्दै अगाडि बढ्नुपर्ने आजको आवश्यकता भएको बताएका छन् ।

न्याय, समानता र समावेशीताको आधारमा जातीय विभेद अन्त्य गर्दै सामाजिक एकता तथा सहिष्णुताको विकास गर्नुपर्नेमा उनको जोड छ । जातीय भेदभाव तथा छुवाछूत उन्मुलन राष्ट्रिय दिवसको अवसरमा आज (बुधबार) शुभकामना व्यक्त गर्दै मुख्यमन्त्री कार्कीले सबै खालका विभेद अन्त्य हुनुपर्ने बताए ।

‘२०६२–०६३ को ऐतिहासिक जनआन्दोलनको जगमा प्राप्त उपलब्धिहरूलाई संस्थागत गर्ने क्रममा यो दिवस मनाउन थालिएको हो,’ शुभकामना सन्देशमा उनले भनेका छन्, ‘जातीय छुवाछूत उन्मूलन गर्ने राष्ट्रिय संकल्पसहित जातीय छुवाछूतमुक्त राष्ट्र घोषणा गरिएको यो दिनले हरेक किसिमका विभेद अन्त्य गर्ने आशा बोकेको छ ।’ मुख्यमन्त्री कार्कीले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा पूरा गर्न विभेद र विकृतिपूर्ण संस्कारको अन्त्य गर्दै अगाडि बढ्नुपर्ने आवश्यकता औंल्याएका छन् ।

उनले नेपाल बहुभाषी, बहुजातीय र बहुसांस्कृतिक मुलुक भएको उल्लेख गर्दै विविधताभित्रको एकता नै राष्ट्रिय समृद्धिको आधार भएको बताए । दिवसले हामीबीच एकता, भाइचारा, सहकार्य र सहिष्णुता प्रवर्द्धन गर्ने उनको विश्वास छ ।

मुख्यमन्त्री कार्कीले सहकार्य र सहस्तित्वको आधारमा मात्रै विकासका पाइलाहरू अगाडि बढाउन सक्ने बताए । दिवसले सबैलाई न्यायपूर्ण, समतामूलक, सुसंस्कृत र विभेदरहित समुन्नत राष्ट्र निर्माणतर्फ प्रेरित गर्ने उनको विश्वास छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.