
काठमाडौं । दुर्गा प्रसाईंसहित पक्राउ परेका ३९ जनाको बयान पूरा भएको छ । तीनकुने घटनामा संलग्न भएको आरोपमा पक्राउ परेका उनीहरुको बयान पूरा भएसँगै थुनछेक बहस सुरु भएको हो ।
बयान पूरा भएसँगै बुधबारबाट काठमाडौं जिल्ला अदालतका न्यायाधीश ध्रबराज कार्कीको इजलासमा प्रतिवादीहरूको थुनछेक बहस सुरु भएको छ ।
राज्यविरुद्धको कसुरका ५० जना प्रतिवादीहरूमध्ये ३९ जना थुनामा छन् । थुनछेक सकिएपछि प्रसाईंसहितका प्रतिवादीहरूलाई पुर्पक्षका लागि थुनामा पठाउने वा धरौटीमा रिहा गर्ने भन्ने आदेश आउँछ ।
त्यस्तै, भाटभटेनी लुटमा संलग्न ११ जनालाई अदालतले धरौटीमा छाड्न आदेश गरेको छ । लुटमा संलग्नहरूको थुनछेक न्यायाधीश पदमराज पाण्डेको इजलासमा भएको थियो ।
सरकारी वकिलले उनीहरु विरुद्ध आपराधिक उपद्रव कसुरमा अभियोजन गरेको थियो ।
























