कोशी प्रदेशस्तरीय विज्ञान तथा प्रविधि प्रदर्शनी हुने

Share this
722shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ जेठ २१, बुधबार १५:१९

विराटनगर । नेकपा (एमाले) कोशी प्रदेश विज्ञान तथा प्रविधि विभागले झापाको बिर्तामोडमा प्रदेशस्तरीय विज्ञान तथा प्रविधि प्रदर्शनी आयोजना गर्ने भएको छ ।

जेठ २४ गतेदेखि २६ गतेसम्म बिर्तामोडको देवी माध्यमिक विद्यालयमा प्रदर्शनी सञ्चालन हुने जनाइएको छ। विभागद्वारा आज (बुधबार) आयोजित पत्रकार सम्मेलनमा प्रदर्शनी आयोजनाका बारेमा जानकारी दिँदै विभागका प्रमुख गणेश पोखरेलले प्रदर्शनीमा १ लाख विद्यार्थी सहभागी हुने अनुमान गरिएको बताए ।

प्रदर्शनीको उद्घाटन पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने कार्यक्रम रहेको छ । कोशी प्रदेशका १२ वटा जिल्लाबाट विद्यार्थीहरूको सहभागिता रहने निश्चित भइसकेको पोखरेलले जानकारी दिए । प्रदर्शनीमा कक्षा–१२ सम्मका विद्यार्थीले सहभागिता जनाउन सक्नेछन् भने ५ सय विद्यार्थीले प्रतिस्पर्धात्मक सहभागिता जनाउने आयोजकले जनाएको छ ।

विज्ञान शिक्षक समाजसँगको समन्वयमा हुन लागेको यस प्रदर्शनीमा प्रथम हुने विद्यार्थीले ४ लाख रुपैयाँ, दोस्रोले ३ लाख, तेस्रोले २ लाख र चौथोले १ लाख रुपैयाँ नगद पुरस्कार पाउनेछन् ।

अन्य २५ वटा विद्यालयलाई २५ हजारका दरले सान्त्वना पुरस्कार प्रदान गरिने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.