बाढीले संखुवासभामा ५ वटा काठे पुल बगायो

Share this
799shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ जेठ २२, बिहीबार १०:५०

विराटनगर । संखुवासभाको उत्तरी क्षेत्र भोटखोला गाउँपालिकामा ५ वटा काठेपुल बाढीले बगाएको छ । बुधबारको बाढीले भोटखोला–१, २ र १, ३ जोड्ने धुङगोपा खोलाका २ वटा काठेपुल बगाएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतका अनुसार बाढीले भोटखोला १ र ३ जोड्ने घङजुङमा खोलाको काठेपुल पनि बगाएको छ ।

भोटखोला १ र ३ जोड्ने छोकाङ खोला, भोटखोला १ र ३ जोड्ने माप्च्या खोलाको पुल पनि बगेको उनले जानकारी दिए ।

यसैबीच, केही दिन अघिको बाढीले भोटखोला गाउँपालिका–३ मा निर्माण भएका दुई वटा साना जलविद्युत् आयोजना बगाएपछि २५० घर विद्युत्विहीन भएका छन् ।

बाढीले कोशी राजमार्गअन्तर्गत खाँदबारी–किमाथांका सडकखण्डको हटिया र हुङहुङ सडक बगाएको छ । बाढीका कारण खाँदबारी–किमाथांका सडकखण्ड अवरुद्ध हुँदा यातायात सेवा ठप्प भएको छ ।

नेपाल प्रवेश गरेको करिब एक साता हुँदा मनसुन कोशी प्रदेशमा बढी सक्रिय भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार कोशीबाट पश्चिमतिर मनसुन विस्तार हुन अझै केही दिन लाग्ने देखिएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.