
काठमाडौं । नेपाल निजामती कर्मचारी संगठनले तीनै तहमा कार्यरत कर्मचारीलाई निजामती कर्मचारीको परिभाषामा समावेश गरी कर्मचारी तथा ट्रेड युनियनमैत्री संघीय निजामती सेवा ऐन जारी गर्न माग गरेको छ ।
नेकपा (एमाले) सम्बद्ध सरकारी कर्मचारीहरुको उक्त संगठनले माग बमोजिम ऐन जारी नभएमा चरणबद्ध आन्दोलन गर्ने चेतावनी पनि दिएको छ ।
केन्द्रीय कार्यसमितिको दोस्रो बैठकले गरेका निर्णय सार्वजनिक गर्न आज (बिहीबार) बिहान आयोजित पत्रकार सम्मेलनमा संगठनकी अध्यक्ष भवानी न्यौपाने दाहालले संगठनले कार्यालय सहयोगीदेखि मुख्यसचिवसम्मको आवाज उठाउँदै आएको भन्दै ती माग पूरा गराउन पहल गरिरहेको बताइन् ।
महासचिव आरसी अधिकारीले माग सम्बोधन नभए चरणबद्ध आन्दोलन गर्ने बताए । उनले निजामती कर्मचारी भन्नाले संघ, प्रदेश र स्थानीय तहमा कार्यरत सबै कर्मचारीलाई सम्झनुपर्छ भन्ने विषय संघीय निजामती सेवा विधेयकको परिभाषामा समेट्नु पर्ने बताए ।
संघ, प्रदेश र स्थानीय तहको अन्तरसम्बन्ध कायम हुने गरी पेसागत हकहित र अधिकारका लागि संगठित हुन कार्यालय प्रमुख बाहेक शाखा अधिकृत वा आठौं तहसम्मका कर्मचारीहरू सदस्य हुन पाउने गरी सामूहिक सौदावाजी सहितको राष्ट्रियस्तरका ट्रेड युनियन र आधिकारिक ट्रेड युनियनको व्यवस्था हुनुपर्ने माग संगठनले राखेको छ ।
यसैगरी कुनै पनि पदमा ५ वर्ष सेवा अवधि भएका कर्मचारीलाई एक तह र १० वर्ष सोभन्दा बढी सेवा गरी योग्यता पुगेका कर्मचारीलाई एक श्रेणी बढुवा गर्नुपर्ने, अतिरिक्त सचिवको सेवा अवधि तोकिनुपर्ने, लेखा परीक्षण नियमावली तुरुन्त जारी गर्नुपर्ने लगायतका माग संगठनका छन् ।

























