
काठमाडौं । पूर्वप्रधानमन्त्री माधवकुमार नेपालमाथि भ्रष्टाचारको मुद्दा दायर भएपछि एकीकृत समाजवादीका नेता एवं अर्का पूर्वप्रधानमन्त्री झलनाथ खनालले दुःखद भनेर टिप्पणी गरेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज (बिहीबार) नेपालसहित ९३ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
नेपालमाथिको मुद्दालाई खनालले अत्यन्त दुःखद भनेर प्रतिक्रिया दिएका हुन् । सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिंदै उनले भने, ‘यो घटनाबारे भर्खर सुनियो, यसबारेमा पार्टीभित्र पनि कुनै छलफल भएको छैन, घटनाक्रमको समग्र जानकारी पनि प्राप्त भैसकेको छैन । तर घटना धेरै दुःखद छ, यसबारेमा सबै तथ्य बुझेर मात्र प्रतिक्रिया दिनु उपयुक्त छ ।’
उनले नेपालको इतिहासमै पहिलो पटक पूर्व प्रधानमन्त्रीमाथि भ्रष्टाचार मुद्दा दायर भएको घटनालाई सामान्य रूपमा लिन नहुने बताए ।
खनालले भने, ‘के भएको हो ? पूर्वाग्रह हो वा अन्य केही छ तर पूर्वप्रधानमन्त्रीमाथि मुद्दा लागेको घटना नेपालकै इतिहासमा यो पहिलो हो, विषय बडो गम्भीर हो ।’
नेपाल प्रधानमन्त्री भएका बेला पतञ्जलि योगपीठले जडीबुटी खेती र आयुर्वेद अस्पताल निर्माणका लागि हदबन्दी छुटमा जग्गा खरिद गरेको थियो । सरकारबाट हदबन्दी छुटमा पाएको उक्त जग्गा पछि मन्त्रिपरिषद्कै निर्णयबाट बिक्री गरेको भेटिएपछि अख्तियारले छानबिन थालेको थियो ।

























