
विराटनगर । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफूले अहिलेसम्म भ्रष्टाचार नगरेको दाबी गरेका छन् ।
पार्टी कामको सिलसिलामा गृहजिल्ला रौतहटमा रहेका नेपालले पार्टी कार्यालयमा जिल्ला नेताहरूसँगको भेटमा यस्तो बताएका हुन् ।
भेटका क्रममा उनले भने, ‘मैले आजसम्म कहिल्यै कुनै भ्रष्टाचार गरेको छैन । तर, मविरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता भएको समाचारहरू आएका छन् । त्यसैले म अब काठमाडौं जाँदैछु ।’
आफू सधैं सुशासनको पक्षमा अडिग रहेकाले कसैले भ्रष्टाचारी सिद्ध गर्न नसक्ने भन्दै नेता नेपालले कार्यकर्तालाई निराश नहुन आग्रह गरेका थिए ।
आफूमाथि प्रतिशोध साँधिएको नेपालको भनाइ छ । ‘यो कदम प्रतिशोधपूर्ण हो’ उनले भने । अध्यक्ष नेपालले आफूविरुद्ध सुरुदेखि नै राजनीतिक षड्यन्त्र भइरहेको र राजनीतिक जीवन समाप्त पार्ने नियतले मुद्दा चलाइएको आरोप लगाए ।
आफूले कुनै पनि अनुचित काम नगरेको र कानुनी प्रक्रियाको सामना गर्न तयार रहेको उनले प्रस्ट पारे ।

























