
विराटनगर । हात्तीपीडित युवा समूहको अगुवाईमा झापामा हात्तीपीडितहरुले बिहीबार नाराबाजी र प्रदर्शन गरेका छन् ।
बाहुनडाँगीका हात्तीपीडितले मेचीनगर नगरपालिकामा प्रदर्शन गरेका हुन् । पीडितहरुले ‘हात्ती चराउन पाइँदैन, राहत हामीलाई चाहिँदैन’, ‘हात्ती चराउन पाइँदैन, आँशु बेच्न पाइँदैन’, ‘हात्ती आयो पारिको, मकै खायो बारीको’लगायतका नारा लगाएका थिए ।
हात्ती नियन्त्रणका लागि उपयुक्त योजना बनाउनुपर्ने माग गर्दै पीडितहरुले नगरपालिकामा ध्यानाकर्षण पत्रसमेत बुझाएका छन् । १५ बुँदे मागसहितको ध्यानाकर्षण पत्र बुझाइएको हो । दिनहुँ सयौंको संख्यामा हात्ती आएर स्थानीयलाई दुःख दिइरहँदा पनि सम्बन्धित पक्ष तथा जनप्रतिनिधिले बेवास्ता गरिरहेको गुनासो उनीहरुको छ ।
स्थानीयका अनुसार सोलार फेन्सिङका कारण हात्ती आतंक नियन्त्रणमा आएको थियो । तर, सोलार फेन्सिङ बिग्रिएपछि पुनः आतंक सुरु भएको र आफूहरु पीडित हुनु परेको गुनासोको पीडितहरुको छ ।
उनीहरुले हात्तीको व्यवस्थापन र संरक्षणमा चासो दिनुको सट्टा सरकारले हात्ती करिडोरको चर्चा गरिरहेको बताए । हात्ती आतंकले हजारौं बिघा खेतीयोग्य जमिन बाँझै रहेको उनीहरुको गुनासो छ ।
मानव–हात्ती द्वन्द्वका कारण बाहुनडाँगी क्षेत्र लामो समयदेखि प्रताडित छ । हात्तीबाट जोगाउन कृषकले धान खेतीको साटो सुपारी लगाएका थिए । तर, पछिल्लो समय हात्तीले सुपारीका रुख भाँचिदिने गरेको स्थानीय बताउँछन् ।























