
विराटनगर । सुनसरीमा सुतेकै ठाउँमा बेहोस भेटिएका एउटा उद्योगमा कार्यरत मजदुरको मृत्यु भएको छ । अचेत अवस्थामा फेला परेका मजदुरको उपचारका लागि अस्पताल पुर्याउनसाथ मृत्यु भएको हो ।
मृत्यु भएका मजदुर भारतीय नागरिक हुन् । भारतको पश्चिम बंगालका अन्दाजी ३० वर्षीय वैशाखु देव शर्माको मृत्यु भएको सुनसरी प्रहरीका प्रवक्ता डीएसपी योगराज खतिवडाले बताए । उनका अनुसार शर्मा सुनसरीको रामधुनी नगरपालिका–२ तित्रिवनस्थित एभरेष्ट भेनियर नामक प्लाई उद्योगमा खाना बनाउने काम गर्दै आएका थिए ।
शर्मालाई आफ्नै कोठामा साथीहरुले बिहीबार राति ११ः३० बजेतिर बेहोस अवस्थामा फेला पारेका थिए । उनलाई उपचारका लागि विराटनगरको कोशी अस्पताल पुर्याइएको थियो ।
अस्पताल पुर्याउनसाथ चिकित्सकले शुक्रबार बिहानका राति २ः५० बजेतिर मृत घोषणा गरेको प्रहरीले जनाएको छ । शवलाई कोशी अस्पतालमै राखेर घटनाको थप अनुसन्धान सुरु गरिएको जानकारी डीएसपी खतिवडाले दिए ।

























