
विराटनगर । विराटनगरमा आज (शुक्रबार)देखि सुरु हुने राष्ट्रिय सम्मेलनका लागि मुलुकभरका पालिकाका उपप्रमुख तथा उपाध्यक्षहरु भेला भएका छन् ।
सम्मेलन उद्घाटनस्थल वीरेन्द्र सभागृहमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसमेत पुगेकी छन् । सम्मेलनमा सहभागी हुन मुलुकभरका विभिन्न महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकाका उपप्रमुख एवं उपाध्यक्षहरु आइपुगेका हुन् ।

विराटनगर महानगरपालिकाको आयोजनामा हुने सम्मेलनको उद्घाटन पूर्वराष्ट्रपति भण्डारीले गर्ने छिन् । सम्मेलन शनिबारसम्म चल्ने छ ।
सम्मेलनमा ६ वटा महानगरसहित मुलुकभरबाट २ सय ९१ जना उपप्रमुख र उपाध्यक्षहरुको सहभागिता रहने जनाइएको छ । सम्मेलनमा विभिन्न कार्यपत्रहरु प्रस्तुत हुने छन् ।
न्याय प्रणालीमा विवाद निरुपण गर्न न्यायिक समितिका संयोजक एवं पदाधिकारीहरुमा चाहिने ज्ञान, सीप तथा कार्यदक्षता सम्बन्धी काशीराज दाहाल र वित्तीय संघीयतालाई संस्थागत गर्न स्थानीय तहको भूमिका तथा प्रयास सम्बन्धी डा. गोपी खनाल तथा स्थानीय सरकार सञ्चालन र विकास प्रक्रियामा उपप्रमुख तथा उपाध्यक्षहरुको भूमिका सम्बन्धी रमेश अधिकारीले कार्यपत्र प्रस्तुत गर्ने बताइएको छ । सम्मेलनले विराटनगर घोषणापत्र जारी गर्ने छ ।



























