
काठमाडौं । सबै कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गरिने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यसका लागि आन्तरिक तयारी सुरु गरेको छ ।
मन्त्रालयको प्रस्तावमा सरकारले ल्याएको नीति तथा कार्यक्रम र बजेट दुवैले राष्ट्रसेवक र संगठित क्षेत्रका कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गराउने विषय उल्लेख गरेको थियो ।
स्वस्थ्य बीमा ऐन २०७४ मा भएको व्यवस्थाअनुसार आएको नीति तथा कार्यक्रम र बजेटमा भएको व्यवस्था लागु गराउन मन्त्री प्रदीप पौडेलले नेपाल सरकारका सबै मन्त्रालय, आयोग, निकाय तथा मातहतका विभागमा पहल थाल्ने निर्णय गरेका छन् ।
यसैगरी, प्रदेश सरकार मातहतका निकाय, विभाग तथा कार्यालयमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत पहल गर्ने निर्णय स्वास्थ्यमन्त्री प्रदीप पौडेलले गरेका छन् ।
यसैगरी, सबै स्थानीय तहहरूमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत पहल गर्ने निर्णय मन्त्री पौडेलले गरेका छन् ।
मन्त्रालयले संगठित क्षेत्रका कर्मचारीलाई समेत स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध गराउने योजना बनाएको छ । यसो भएमा स्वास्थ्य बीमा कोषमा प्रिमियम पर्याप्त हुने र कार्यक्रम दिगो बन्ने मन्त्रालयले गठन गरेको स्वास्थ्य बीमा सुधार सुझाव कार्यदलको प्रतिवेदनमा छ ।

























