
विराटनगर । झापामा वनभित्रको पोखरीमा पौडी खेल्ने क्रममा डुबेर आज (शनिबार) बिहान २ जना बालकको मृत्यु भएको छ ।
अर्जुनधारा नगरपालिका–११ स्थित नमुना सामुदायिक वनभित्र रहेको सामुदायिक दिमदिमे पोखरीमा घटना भएको हो । झापा प्रहरीका प्रवक्ता डीएसपी खगेन्द्रबहादुर खड्काका अनुसार पौडी खेल्ने क्रममा तेह्रथुम जिरीखिम्ती घर भइ अर्जुनधारा–११ स्थित पूर्णबहादुर राईको घरमा पाहुना आएकी धनमाया गुरुङका छोरा १२ वर्षीय महसुस गुरुङ र अर्जुनधारा–११ की मुना गुरुङका छोरा १० वर्षीय सुजल गुरुङको मृत्यु भएको हो ।
दुवै बालक पोखरीमा डुबेको अवस्थामा बिहान ८ बजेतिर फेला परेको जानकारी खड्काले दिए । ‘दुवै बालक पौडी खेल्न पोखरीमा पसेको पाइयो । तर, डुबेको अवस्थामा स्थानीयले फेला पारेछन् । पछि उनीहरुको मृत्यु भयो,’ उनले भने ।
बालकहरु डुबिरहेको देखेपछि स्थानीयले उद्धार गरेर उपचारका लागि झापाको बिर्तामोडस्थित बी एन्ड सी अस्पताल लगेका थिए । अस्पताल पुर्याउनसाथ ८ः२० बजेतिर चिकित्सकले मृत घोषित गरेको खड्काले बताए ।
शव बी एन्ड सी अस्पतालमै छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

























