कोइलाखाद : सपनाहरु गुम्सिएको सुरुङ

मुलुकी खबर
सुजता लिम्बू
clock२०८२ जेष्ठ २४, शनिबार १२:२३

विराटनगर । समाजका गहिरो तहहरुमा गुम्सिएर बसेका पीडा, संघर्ष र मौन विद्रोहलाई उजागर गर्ने क्षमता साहित्यको विशेषता हो । लेखक श्याम सिंघकको उपन्यास ‘कोइलाखाद’ यस्तै मौन आवाजहरुलाई शब्दमार्फत् व्यक्त गर्ने सफल प्रयासको रुप हो ।

कोइलाखाद जस्तो अँध्यारो, जोखिमपूर्ण मानिसहरुको जीवनयात्रा, संवेदना र संघर्षलाई लेखक सिंघकले यथार्थपरक शैलीमा प्रस्तुत गरेका छन् । जसले पाठकलाई न केवल भावनात्मकरुपले छुन्छ, भारतको मेघालयको कोइलाखानीमा उमेर, वैंश र समाधिस्थल छोडिरहेका नेपालीहरुको बारेमा अदृश्यरुपले सोच्न बाध्य बनाउँछ ।

Advertisement

जब दुःखका बादल मडारिएका कथा सर्जकको कलमसम्म पुग्छ, यो कथामा मात्रै सीमित हुँदैन, जीवनका असहज विषयहरुलाई च्याउन सक्ने आँखीझ्याल बन्छ । कोइलाखाद गुम्सिएका र उम्किएकाहरुको कथा विरल दस्तावेज हो भन्दा फरक पर्दैन ।

लेखक सिंघकको मन र मस्तिष्कले समय र जीवनको यथार्थलाई उपन्यास मार्फत् कोरेका छन् । अँध्यारो खानीभित्र प्राण त्यागेका देखि बाँचेकाहरुको आशा र आक्रोश पनि मिसिएको छ ।

आदिवासी समुदायका युवाहरुका लागि लाहुरे सपना देख्नु रहर होइन, बाँच्नका लागि रोजिएको एउटा सम्भावित बाटो हो । त्यही बाटोमा यात्रा गरिरहेका उपन्यासका पात्र लोचनबहादुर लिम्बूको आकांक्षा लाहुरेबाट सुरु भएर अन्त्य हुन्छ, मेघालयको कोइलाखादको अँध्यारोमा ।

लोचन एक्ला पात्र होइनन् । मेघालयको कोइलाखादमा उमेर, आफ्ना, आफन्त गुमाउनेहरु उनी जस्ता हजारौँ युवाहरुको सपना, सम्बन्धहरुको बली चढेको छ ।

कोइलाखादमा आउने र जाने नेपालीहरुको लर्काे र उनीहरुको जीवन गाथालाई लेखक सिंघकले सुक्ष्म ढंगले उपन्यास मार्फत् केलाएका छन् । त्यति मात्रै होइन मेघालयको हावापानी, बनजंगल र त्यहाँको संस्कार संस्कृतिलाई समेत मिहिन ढंगले पस्किएका छन् ।

कोइलाखादमा मजदुरी गर्न गएका नेपाली युवाहरूको खासिनी महिलासँग प्रेम, विवाह, र त्यसपछि नेपाल फर्किएर सन्तान र श्रीमती छोडेर एक्लै बाँचेको पीडादायक जीवन मात्र होइन, मेघालयमा छोडिएका श्रीमती र छोराछोरी सम्झिएर फर्किएका लोचनजस्ता पात्रहरूको सम्बन्ध र मनोविज्ञानलाई पनि लेखकले गहकिलो रूपमा प्रस्तुत गरेका छन् ।

खासी समुदायमा महिलाहरू नै पैतृक सम्पत्तिको हकदार हुन्छन् तर, छोडेर गएको नेपाली श्रीमानलाई स्विकारेको रुथ (खासी समुदायकी महिला) परिवारले श्रीमानलाई स्वीकार गर्दैन, उनको नाममा रहेको सम्पत्ति छोरीको नाममा गरिदिन्छन् ।

उपन्यासमा यो विषय केवल प्रेमका लागि सम्पत्ति त्यागको कुरा मात्र होइन, आफ्नै निर्णयप्रति स्वामित्व राख्ने आदिवासी महिलालाई साहसी दृष्टिकोणको रुपमा पनि प्रस्तुत गरिएको छ । कोइलाको कालो धुलोले ढाकेको हजारौँ युवाहरको सपना, आदिवासी महिलाहरुको विद्रोह र मातृसत्ताभित्रको आत्मनिर्णको द्वन्द्व एउटै संसारमा भेटिन्छ ।

लेखक सिंघकले साँच्चै गज्जब विषयमा कलम चलाएका छन् । भूईँमान्छेका विषयले न नारा दिन खोज्छ, न सहानुभूति माग्छ । यसले समाजको कुनै सफलताको कथामा ओझेल परेर बसेको अध्याँरो भागलाई प्रस्ट बनाउँछ, शब्द या सम्वेदनाले ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.