
विराटनगर । मोरङको ग्रामथानमा अघिल्लो दिन घरबाट हराएकी १ जना वृद्धा भोलिपल्ट मृत फेला परेकी छन् ।
ग्रामथान गाउँपालिका–७ की ८९ वर्षीया तिलमाया खड्का सुनसरी–मोरङ सिँचाइ आयोजनाको नहरमा घोप्टो परेर डुबेको अवस्थामा आइतबार अपरान्ह १२ बजेतिर मृत फेला परेकी हुन् । जिल्ला प्रहरी कार्यालय मोरङका इन्स्पेक्टर हेमराज ओलीका अनुसार वृद्धा शनिबार घरबाटै हराएको पाइएको छ ।
अघिल्लो दिन घरबाट हिँडेकी वृद्धाको शव भोलिपल्ट ग्रामथान–६ स्थित नहरको पानीमा डुबेको अवस्थामा भेटिएको इन्स्पेक्टर ओलीले बताए । प्रहरीको प्रारम्भिक अनुसन्धानबाट वृद्धाको मानसिक सन्तुलन कमजोर रहेको पत्ता लागेको छ ।
इलाका प्रहरी कार्यालय बेलबारीका इन्स्पेक्टर कृष्णबहादुर खत्री नेतृत्वको टोलीले कानुनी प्रक्रिया पूरा गरेर शवलाई पोस्टमार्टमका लागि विराटनगरको कोशी अस्पताल पठाएको छ । तत्काललाई मृत्यु शंकास्पद नदेखिएको र घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

























