भूमिसम्बन्धी विधेयक चाँडै पारित गर्ने प्रधानमन्त्री ओलीको प्रतिबद्धता

Share this
777shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ जेठ २५, आइतबार १३:०२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र भूमि समस्या समाधान आयोगका पदाधिकारीबीच छलफल भएको छ । छलफलपछि प्रधानमन्त्री ओलीले भूमिसम्बन्धी विधेयक चाँडै पारित गरिने प्रतिबद्धता जनाएका थिए ।

प्रधानमन्त्री निवास, बालुवाटारमा आज (आइतबार) भएको छलफलमा आयोगले भूमिहीन दलित, सुकुम्वासी तथा अव्यवस्थित बसोबासीको पहिचान, लगत सङ्कलन, प्रमाणीकरण, नाप नक्सांकनको काम भइरहेको जनाएको थियो

यसैगरी, विवाद समाधान तथा जग्गा दर्ता र प्रमाणपूर्जा वितरणसम्मको योजना बनाइ तीनै तहका सकारसँगको सहकार्यमा काम भइरहेको आयोगका प्रतिनिधिले प्रधानमन्त्री ओलीलाई जानकारी गराएका थिए ।

भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारी सहितको छलफलमा आयोगका अध्यक्ष हरिप्रसाद रिजालले दस वर्षदेखि बसोबास र अन्य सरकारी जग्गा नपाएका नागरिकलाई भूमिहीन, सुकुम्वासी पहिचान गर्ने तथा अव्यवस्थित बसोबासीका हकमा कम्तीमा १० वर्षदेखि सरकारी, ऐलानी, पर्ति जमिनामा आवादरकमोद गरेर बसोबास गरिरहेको हुनुपर्ने मापदण्ड तयार गरिएको जानकारी गराए ।

भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक पारित भएका काम गर्न थप सहज हुने आयोगका पदाधिकारीको भनाइ छ ।

प्रधानमन्त्री ओलीले संसद्मा विचाराधीन उक्त विधेयक चाँडै पारित हुने विश्वास व्यक्त गर्दै आयोगले भूमिहीन दलित, सुकुम्वासी तथा अव्यवस्थित बसोबासीको पहिचानका कामलाई योजनाबद्ध र तीव्रताका साथ अघि बढाउन निर्देशन दिए । नेपाल सरकारले गत कात्तिक १४ गते सो आयोगको गठन गरेको थियो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.