कोशीमा ‘सुरक्षित सीमा, सुरक्षित जीवन’ अभियान सुरु 

Share this
669shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ जेठ २५, आइतबार १९:४३

विराटनगर । कोशी प्रदेशमा ‘सुरक्षित सीमा, सुरक्षित जीवन’ अभियान सुरु भएको छ ।

सशस्त्र प्रहरी बल नेपाल नं. १ बराह बाहिनी मुख्यालयले कोशी प्रदेशको आज ( आइतबार) बाट आन्तरिक मामिला तथा कानुन मन्त्रालयसँगको सहकार्यमा सीमा क्षेत्रमा हुने आपराधिक गतिविधिलाई नियन्त्रण गर्नका लागि ‘सुरक्षित सीमा, सुरक्षित जीवन’ अभियान  सुरु गरेको हो ।

‘सुरक्षित सीमा, सुरक्षित जीवन’ कार्यक्रमको उद्‌घाटन गर्दै आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारीले सीमा क्षेत्र संवेदनशील क्षेत्र भएकाले नागरिकहरूको सक्रिय सहभागिता बढाउने उद्देश्यले कार्यक्रम गरिएको बताए ।

उनका अनुसार सीमा केन्द्रित आपराधिक गतिविधि, लागूऔषधको कारोबार, अवैधानिक गतिविधि जस्ता गैह्र कानुनी कार्यलाई रोक्नका लागि नागरिक सहभागिता आवश्यक छ ।

‘देश सीमाको सुरक्षा गर्ने जिम्मा केबल प्रहरी प्रशासनको मात्रै नभई स्वयम्‌ सीमा क्षेत्रमा बस्ने हरेक नेपालीको रहेको हुँदा सबै मिलेर सीमाको सुरक्षा र गैह्र कानुनी गतिविधिलाई रोक्नु पर्छ ।’ मन्त्री भण्डारीले भने ।

सशस्त्रका कोशी प्रदेश प्रमुख डीआइजी कुमार न्यौपानेले सीमा क्षेत्रका स्थानीय नागरिक तथा युवा विद्यार्थीहरूमा सीमा सुरक्षाको महत्त्व र सीमा सुरक्षाको आवश्यकता बारे जानकारी गराइने बताए ।

सीमा सुरक्षामा समुदायको भूमिका महत्त्वपूर्ण हुने बताउँदै उनले नागरिक र युवा वर्गमा सीमा अपराधले समाज र राष्ट्रमा पर्ने गम्भीर असरहरूको बारेमा जानकारी दिई युवाहरूलाई सही मार्गमा लाग्न प्रेरित गर्ने बताए ।

यो अभियान असार १० गतेसम्म मोरङ, सुनसरी, झापा र इलामको सीमा क्षेत्रमा सञ्चालन हुनेछ ।

कार्यक्रममा सीमाको परिचय, सीमा सुरक्षा, सीमा अपराध नियन्त्रण र सीमा सुरक्षामा समुदायको भूमिका, सीमामा विपद् व्यवस्थापन र पूर्व तयारी जस्ता विषयहरूमा कक्षा सञ्चालन तथा अन्तरक्रिया सञ्चालन गरिनेछ ।

नेपाल प्रहरीले हातहतियार ओसारपसार, लागूऔषध दुर्व्यसन र नियन्त्रण सम्बन्धमा कक्षा दिइने छ ।

सशस्त्र प्रहरीले सीमा सुरक्षा, आन्तरिक सुरक्षा, राजश्व संकलनमा सहयोग र विपद् व्यवस्थापन जस्ता क्षेत्रमा काम गरिरहेको छ ।

सीमा सुरक्षाअन्तर्गत नेपाल –भारत अन्तर्राष्ट्रिय सीमामा २ सय ४४ वटा र नेपाल – चीन सीमामा ११ वटा गरी जम्मा २ सय ५५ वटा बोर्डर आउट पोस्टहरूको स्थापना काम गरिरहेको बताइएको छ ।

यसका साथै कोशी प्रदेशमा १० वटा प्रस्तावित सीमा सुरक्षा गुल्म र ४८ वटा बोर्डर आउट पोस्टहरूबाट सीमा सुरक्षाको कार्य भइरहेको छ ।

कोशी प्रदेशका सीमावर्ती वडाका वडाध्यक्षहरूको संयोजकत्वमा ८१ वटा सीमा सहजीकरण समिति गठन गरी सीमामा भएका समस्याहरूको समाधान गरिँदै आएको छ ।

त्यस अवसरमा सशस्त्र प्रहरीले स्थानीय ज्येष्ठ नागरिकहरूका लागि स्वास्थ्य शिविर सञ्चालन गरेको थियो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.