
विराटनगर । सुनसरीको कोशी गाउँपालिकाका अध्यक्ष ऐयुब अन्सारीको दादागिरीले सीमा नाघेको छ ।
तर, उनको दादागिरी सामु प्रशासन भने निरीह बनेको छ । उल्टै गाडी चेकजाँच गर्ने ट्राफिक प्रहरीको टोली नै हटाइएको छ । गाडी चेकजाँच गरेको विषयमा उनले गाउँलेहरु उचालेर अश्लिल शब्द प्रयोग गर्दै ट्राफिक प्रहरीलाई तथानाम गालीगलौज गरेको भिडियो सार्वजनिक भएको छ ।
अन्सारीलाई भने हालसम्म कारबाहीको दायरामा ल्याइएको छैन । उल्टै उनको दबाबमा ट्राफिकको टोली उठाइएको हो । जसका कारण फिल्डमा खटिएर काम गर्ने प्रहरीको मनोबल कमजोर बनेको छ । मनोबल गिर्ने गरी हर्कत गरेका अन्सारीलाई उन्मुक्ति दिएर गाडी चेकजाँच गर्ने ट्राफिकको टोली उठाएपछि प्रशासन र प्रहरी अधिकारीको चौतर्फी आलोचना भइरहेको छ ।
अन्सारीसँगको विवादपछि कोशी गाउँपालिका–२ स्थित कोशी कटान क्षेत्रमा पूर्वपश्चिम राजमार्ग सुरक्षाका लागि खटिएका ९ जना ट्राफिक प्रहरीको टोली हटाइएको हो । ट्राफिक प्रहरी स्रोतका अनुसार शुक्रबार कोशी कटान क्षेत्रमा बाँस ‘ओभरलोड’ गरिएको ट्याक्टर चेकजाँच गर्दा कागजात भेटिएन ।
ट्राफिक प्रहरीले रोकेर जरिबाना काट्ने बताएपछि ट्याक्टर आफ्नो हो भन्दै दलबलसहित गाउँपालिका अध्यक्ष अन्सारी पुगेका थिए । ड्युटीमा रहेका प्रहरीलाई अपशब्द प्रयोग गर्दै गाली गरेका उनले घुस खाएको आरोप लगाए, अनि कुटेर मार्ने धम्की पनि दिए ।
उनीसँग विवाद भएको केही समयमै राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीले कोशी कटान क्षेत्रमा खटिएका प्रहरी नायव निरीक्षक (सई) कमलप्रसाद दाहाल नेतृत्वको ९ जनाको टोलीलाई फिर्ता बोलायो । दाहालको स्थानमा प्रहरी सहायक निरीक्षक (असई) राजाराम यादवको नेतृत्वमा नयाँ टोली खटाइएको छ ।
प्रहरीलाई अपशब्द प्रयोग गर्दै ज्यान मार्नेसम्मको धम्की दिने पालिका अध्यक्षका विषयमा प्रशासन मौन छ । तर, कर्तव्य पालनमा खटिएका प्रहरीको सिंगो टोली नै फिर्ता बोलाएर छानबिन समिति गठन गरिएको छ ।
सुनसरीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रका अनुसार पालिका अध्यक्षले उठाएको विषयमा छानबिनका लागि ४ सदस्यीय टोली गठन भएको छ । अध्यक्ष अन्सारीले ट्राफिक प्रहरीले दूधको गाडीसँग घुस लिएको आरोप लगाएका थिए ।
प्रजिअ मिश्रका अनुसार जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी योगराज खतिवडाको संयोजकत्वमा समिति गठन गरेर छानबिनको प्रक्रिया अघि बढाइएको छ । ‘ट्राफिक प्रहरीले घुस लिएको भन्ने आरोप छ । आरोप छानबिनका लागि त्यहाँ कार्यरत सबै ट्राफिकलाई तानेर समिति गठन गरिएको हो । अध्यक्षको अभिव्यक्तिका विषयमा पनि प्रहरीले अनुसन्धान गर्दैछ,’ उनले भने ।
कोशी प्रदेश प्रहरी प्रमुख डीआईजी ईश्वर कार्की गाउँपालिका अध्यक्षले प्रहरीमाथि गरेको व्यवहारको विषयमा अनुसन्धान भइरहेको बताउँछन् । अध्यक्षको अभिव्यक्ति टिप्पणी गर्न लायक नभएको बताउँदै उनले छानबिनका लागि सुनसरी प्रहरीलाई निर्देशन दिइसकिएको जनाए ।
ट्राफिक प्रहरीलाई अपशब्द प्रयोग गर्दै अध्यक्ष अन्सारीले गाली गरेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । भिडियोमा उनले पदको मर्यादा नराखी अश्लिल शब्द प्रयोग गरेर प्रहरीलाई ज्यान मार्ने र कोशीमा ट्राफिक प्रहरी नचाहिने धम्की दिएको सुन्न सकिन्छ ।
आफ्नो पालिकामा सवारी चेक नहुने र ट्राफिक नचाहिने भन्दै उनले कुटेर मार्ने धम्की दिएका हुन् । ‘कोशीमा ट्राफिक प्रहरी चाहिँदैन । यहाँबाट गइहाल’ भन्दै उनीसहितको दलबलले हातपातको प्रयाससमेत गरेको थियो । ‘जनता ल्याएर कुटेर मारिदिन्छु, मलाई चिन्दैन ? भनेर उनले प्रहरीलाई धम्क्याएका छन् ।
भिडियो सार्वजनिक भएपछि विवादमा तानिएका अध्यक्ष अन्सारी भने सम्पर्कमा आउनै चाहेनन् । पटक–पटक गरेको फोन उनले उठाएका छैनन् ।
नेपाली कांग्रेसबाट गाउँपालिका अध्यक्ष निर्वाचित भएका अन्सारीमाथि सीमा क्षेत्रबाट तस्करीको लाइन चलाउने गरेको आरोप लाग्दै आएको छ । उनी निर्माण व्यवसायी (ठेकेदार) पनि हुन् ।
गाउँपालिकामा उनकै नेतृत्वमा अनियमितता भइरहेको आरोपसमेत लागेको छ । गाउँपालिकालाई आफ्नै डोजर र टिपर भाडामा लगाएर काम गरिरहेको स्रोतले बतायो ।

























