
विराटनगर । कोशी राजमार्गअन्तर्गत विराटनगर महानगरपालिका–३ स्थित तिरुपति पेट्रोल पम्पअगाडि दुर्घटनामा परेर घाइते भएका १ जनाको उपचारका क्रममा मृत्यु भएको छ ।
प्रहरीका अनुसार दूध फारमबाट कञ्चनबारीतर्फ आउँदै गरेको को ३४ प २४३४ नम्बरको मोटरसाइकल र कञ्चनबारीतर्फ नै आउँदै गरेको प्रदेश १–०२–०४४ प ९५७२ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाँदा आइतबार राति ८:४० बजेतिर दुर्घटना भएको थियो । दुर्घटनामा परेर ९५७२ नम्बरको मोटरसाइकल चालक विराटनगर–५ का ४२ वर्षीय नवीन खनालको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार गम्भीर घाइते भएका खनालको उपचारका क्रममा विराटनगरको नोबेल शिक्षण अस्पतालमा सोमबार दिउँसो ४ बजेतिर मृत्यु भएको हो ।खनाल लाइन्स क्लब अफ विराटनगर गुराँसका सदस्य हुन् । उनले विराटनगरमा मुनलाइट फोटो स्टुडियोसमेत सञ्चालन गर्दै आएका थिए ।
दुर्घटनामा परेर अर्को मोटरसाइकलको पछाडि सवार भारत झारखण्ड घर भइ विराटनगर–६ रामपुरस्थित माइतीमा बस्दै आएकी २९ वर्षीया सपना दास घाइते भएकी थिइन् । सामान्य अवस्थाकी उनको नोबेलमा उपचार भइरहेको छ ।
२४३४ नम्बरको मोटरसाइकलका चालक भारतको झारखण्डका ३४ वर्षीय राकेश रन्जनलाललाई नियन्त्रणमा लिएर प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ । मोटरसाइकलको तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

























