
दमक । एन्जल फाउण्डेसन उर्लाबारीले प्रशिक्षक प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको छ । सुनसरी, मोरङ र झापाका सहकारी अगुवाहरुलाई प्राथमिक उपचार सम्बन्धि प्रशिक्षक प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको हो ।
कार्यक्रममा करिब दुई सय सहकारीका अध्यक्ष, प्रबन्धक तथा कर्मचारीहरुको सहभागिता थियो । तत्काल प्राथमिक उपचार पाउँदा ज्यान जोगिन सक्ने भएकाले प्रत्येक घरपरिवारका एक जनामा प्राथमिक उपचारको ज्ञान हुन आवश्यक रहेको सरोकारवालाहरुले बताएका छन् ।
हृदयघात, सर्पदंश, कुकुरको टोकाईलगायतका समस्या हुँदा कसरी प्राथमिक उपचार गर्न सकिन्छ भन्ने विषय लाई तालिममा व्यवहारतः प्रस्तुत गरिएको थियो ।
फाउण्डेसनले प्राथमिक उपचार सम्बन्धि ज्ञान समुदाय तहसम्म पु¥याउन सहकारीका माध्यमबाट सहज हुने भन्दै अगुवाहरुलाई प्रशिक्षक प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको संस्थाका जनरल म्यानेजर सन्तोष कार्कीले जानकारी दिए ।
कार्यक्रममा प्रमुख अतिथि कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारीले प्राथमिक उपचारका लागि आवश्यक ज्ञान र सीपको विस्तारले नागरिकमा गैर सरकारी संस्थाहरुप्रति विश्वास बढ्ने बताए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ कोशी प्रदेशका कोषाध्यक्ष सुदीप कोइरालाले स्वास्थ्यका क्षेत्रमा सचेतना जगाउँदै जनताई स्वस्थ्य रहन प्रेरित गर्ने फाउण्डेसनको काम प्रशंसनीय रहेको बताए ।
एन्जल फाउण्डेसनकी अध्यक्ष पुनमसिंह राजवंशीले विभिन्न वित्तिय संस्थाहरुसँगको सहकार्यमा स्वास्थ्य सचेतनाका कार्यक्रमलाई अघि बढाउँदै आएको बताए ।
प्रमुख कार्यकारी अधिकृत जीवनसिंह राजवंशीले प्राथमिक उपचारका क्षेत्र र विधिहरुबारे जानकारी गराएका थिए ।
संस्थाका बजार व्यवस्थापक सुशान्त पाठकले हालसम्म तीन वटा प्रदेशमा १५६ वटा स्वास्थ्य सचेतना कार्यक्रम गरि ३० हजार नागरिकलाई प्राथमिक उपचारबारे जानकारी गराइएको बताए । १४१ वटा स्वास्थ्य शिविरबाट १२ हजार ५ सय जना भन्दा बढी जनतालाई सेवा प्रवाह गरेको बताए ।

























