
विराटनगर । पूर्व–पश्चिम राजमार्गअन्तर्गत मोरङको सुन्दरहरैँचा नगरपालिका–८ सलकपुरस्थित पाथीभरा मन्दिरनजिक मोटरसाइकल दुर्घटनामा परेर घाइते भएकाको सशस्त्र प्रहरीले उद्धार गरेको छ ।
दुर्घटना भएको जानकारी पाउनसाथ सशस्त्रको मद्धती तथा सेवा गुल्म सलकपुरबाट खटिएको टोलीले घाइतेलाई उद्धार गरेर उपचारका लागि मोरङको बूढीगंगा गाउँपालिकास्थित विराट शिक्षण अस्पताल पठाएको हो । विराटचोकबाट इटहरीतर्फ जाँदै गरेको बा ९५ प १३४८ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भएर सोमबार राति १० बजेतिर दुर्घटनामा परेको थियो ।
दुर्घटनामा बेलबारी नगरपालिका–१ का २९ वर्षीय शम्भु अधिकारी घाइते भएका छन् । मोटरसाइकलको तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
दुर्घटनामा परेका अधिकारी पूर्व–पश्चिम राजमार्ग (एसियन हाईवे) विस्तारका क्रममा कल्भर्ट निर्माण गर्न प्रयोग गरिएको रडमा परेका थिए । उनको दाहिने तिघ्रामा रड उनिएको थियो । तिघ्रालाई छेडिएर वारपार भएको रड मेसिनको सहायताले काटेर उद्धार गर्दै सशस्त्रले अधिकारीलाई उपचारका लागि अस्पताल पठाएको हो ।
मोटरसाइकल इलाका प्रहरी कार्यालय विराटचोकको नियन्त्रणमा लिएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

























