
विराटनगर । विराटनगर महानगरपालिका ३ महिनायता कायममुकामयको भरमा चलिरहेको छ । कोशी प्रदेशको एउटा मात्रै महानगर विराटनगरमा प्रशासनिक संकट निम्तिएको लामो समय भयो ।
तर, सुरुवा भएर आएका प्रमुख प्रशासकीय अधिकृतले हाजिर गर्न पाएका छैनन् । प्रमुख प्रशासकीयका रूपमा सरुवा भएका नेपाल सरकारकै सहसचिव रामचरित्र मेहतालाई हाजिर गर्नबाट रोक लगाइएको हो ।
मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्कीलगायतका जनप्रतिनिधिसँग स्वार्थ नमिल्ने देखिएपछि मेहतालाई हाजिर गर्नबाट बञ्चित गराइएको स्रोतले बतायो । यद्यपि, मेहता पनि विवादरहित छैनन् । इटहरी उपमहानगरपालिकामा हुँदा उनी अनेक विवादमा मुछिएका थिए ।
गत वैशाख ९ गते संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मन्त्रिपरिषद्को निर्णयबमोजिम ४७ सहसचिवको सरुवा गर्दा विराटनरगमा सहसचिव रामचरित्र मेहतालाई पठाएको थियो । तर, विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले हाजिर नगराउने अडान लिएपछि महानगर कायममुकामय (कामु)को भरमा चलिरहेको छ ।
विराटनगर महानगरका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीको अवकाशपछि गत फागुन तेस्रो साताबाट रामप्रसाद ढुंगेलले कामु प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी पाएका थिए । मेयरले सहसचिवको सरुवा रोकेपछि ढुंगेलले कामुको जिम्मेवारी सम्हालिरहेका छन् ।
विराटनगर सरुवा भएपनि आउन नपाएका रामचरित्र मेहता युवा तथा खेलकुद मन्त्रालयमा छन् । जनप्रतिनिधिले अस्वीकार गरेपछि उनी नआउने भएका छन् । ‘म मन्त्रालयमै छु । बाहिर गएको छैन । अब विराटनगर गइँदैन हो,’ मेहताले भने
आफूसँग सल्लाह नगरी सरुवा गरेको भन्दै विराटनगर महानगरपालिका मेयर कोइरालाले मेहतालाई हाजिर नगराउने बताएका थिए । मेयरले नै हाजिर हुन नदिने सन्देश पठाएपछि मेहता मन्त्रालयमै बसेका हुन् ।
मेहता यसअघि इटहरी उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत थिए । इटहरीमा रहँदा उनी विवादमा तानिएका हुन् । कर्मचारी सरुवाको विषयमा वडा कार्यालयको ‘सर्भर डाउन’ गरेपछि उनी विवादमा तानिएका थिए ।
विराटनगर महानगरपालिकाकी उपप्रमुख शिल्पा निराला कार्की प्रमुख प्रशासकीय अधिकृत नआएपनि काम गर्न गाह्रो नभएको बताउँछिन् । नयाँ प्रमुख प्रशासकीय अधिकृत आउने विषयमा टुंगो नभएको उनले बताए ।
‘अहिले कामुलाई सबै अधिकार दिएका छौं,’ उनले भनिन्, हामीलाई काम गर्न समस्या छैन ।’ विराटनगर सरुवा भएपनि हाजिर हुन नपाएका मेहता कहाँ छन् भन्ने विषयमा जानकारी नभएको उनले बताइन् । मन्त्रालयबाट अधिकार लिएर निमित्तलाई आर्थिक अधिकारसहितको जिम्मेवारी दिइएको बताउँदै कार्कीले काम गर्नका लागि कुनै समस्या नभएको बताइन् ।

























