
विराटनगर । अत्यधिक गर्मी बढेपछि सुनसरीको इटहरी उपमहानगरपालिकाले नगर क्षेत्रका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरूमा बिदा दिने निर्णय गरेको छ ।
इटहरी उपमहानगसपालिकाले इटहरी क्षेत्रभित्रका सबै विद्यालयमा असार २८ गते बुधबारका दिन गर्मी बिदा दिइएको भन्दै सूचना जारी गरेको छ । वर्षे बिदाबाट कट्टी गर्ने गरी १ दिनका लागि बिदा दिइएको जनाइएको छ ।
तापक्रम अत्यधिक बढ्दै गएपछि विद्यालय सञ्चालनमा कठिनाइ भएको र विद्यार्थीहरूको स्वास्थ्यमा प्रतिकूल असर पर्न थाले पछि बिदा दिइएको उपमहानगरपालिकाले जनाएको छ ।
केही दिनयता गर्मी निकै बढेको छ । यो वर्ष औसत समयभन्दा १५ दिनअघि नै नेपालमा मनसुन भित्रिएको भए पनि केही दिनयता निस्क्रिय बनेकाले पानी पर्न सकेको छैन । त्यही भएर गर्मी निकै बढेको हो । आज (मंगलबार) विराटनगर र आसपास क्षेत्रको तापक्रम ३८ डिग्री सेल्सियसभन्दा माथि पुगेको छ ।

























