चट्याङले ४ जना घाइते

Share this
722shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ जेठ २९, बिहीबार १०:४१

विराटनगर । चट्याङले झापा र धनकुटामा ४ जना घाइते भएका छन् । ३ वटा चौपाया मरेका छन् । बुधबार वर्षा र हावाहुरीसँगै चट्याङ पर्दा घटना भएको हो ।

प्रहरीका अनुसार साँझको समयमा झापाको बुद्धशान्ति गाउँपालिका–४ सट्टाभर्ना बस्ने ६० वर्षीय पुण्य पौडेल आफ्नै गाईगोठमा काम गर्ने क्रममा चट्याङ लागेर घाइते भएका हुन् । उनको दुवै आँखा र दाहिने हातमा चोट लागेको छ । बिर्तामोडस्थित बिर्तासिटी अस्पतालमा उनको उपचार भइरहेको छ ।

यसैगरी, शिवसताक्षी नगरपालिका–७ टेक्रा बस्ने ४४ वर्षीया डम्बरकुमारी भुजेलको घरनजिकै रहेको गाईको गोठमा बाँधिराखेको एउटा गाई चट्याङ लागेर घटनास्थलमै मरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

घरभित्र बसिरहेकी डम्बरकुमारीको अनुहारको केही भाग जलेको छ । उनको स्थानीय मेडिकलमा उपचार भइरहेको छ ।

धनकुटाको पाख्रीबास नगरपालिका–७ देउराली बस्ने ७० वर्षीय सूर्यबहादुर बस्नेतको घर र गोठमा चट्याङ पर्दा उनी घाइते भएका छन् । उनको शरीरको दाहिने भागमा चोट लागेको छ र उपचारका लागि स्थानीय मेडिकलतर्फ पठाइएको छ ।

उनको गोठ घरमा बाँधेको एउटा गोरु र एउटा भैँसीको पाडो घटनास्थलमै मरेको प्रहरीले जनाएको छ । धनकुटाकै पाख्रीबास–७ थाक्ले बस्ने ५० वर्षीया टिकाकुमारी भण्डारी आफ्नै घरमा बसिरहेको अवस्थामा चट्याङको झड्काले लागेर घाइते भएकी छन् । उनको जिल्ला अस्पताल धनकुटामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

यसैगरी, अबिरल वर्षासँगै परेको चट्याङले संखुवासभाको खाँदबारी ४ बरालगाउँ बस्ने योगराज बरुवालको गोठमा बाँधिराखेको एउटा दुहुना भैँसी मरेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.