
काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालको सांसद पद निलम्बन भएको जानकारी संसदलाई दिइएको छ ।
सभामुख देवराज घिमिरेले शुक्रबारको प्रतिनिधिसभा बैठकमा नेपालको सांसद पद निलम्बन भएको सूचना संसदलाई दिएका हुन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतञ्जलि जग्गा हिनामिना प्रकरणमा नेपालविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।
साढे १८ करोडभन्दा बढी बिगो दाबीसहित उनीविरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता भएको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, २०४८ साथै भ्रष्टाचार निवारण ऐन, २०५८ मा सार्वजनिक पदमा भएको व्यक्तिविरुद्ध मुद्दा दर्ता भए स्वतः निलम्बन हुने व्यवस्था छ ।
























