
हठात् !
मुहारपुस्तिकाको भित्तामा
तिमी मुस्कुराइरहेको तस्विरमाथि
क्याप्सनमा ‘अल बिदा’ सँगै
आँसुको इमोजी देखेर
अवाक् भएँ
आकाश रोइरहेको रात
सम्झेर रुमानी अतीतहरु
भावुक भएँ
हामीले बनाएको बालुवाको घर सम्झें
हामीले उडाएको कागजको जहाज सम्झें
सम्झें– सँगै हाँसेका खुसीहरु
सम्झें– सँगै रोएका पीडाहरु
सम्झें– मखमली याम, तुषारे शिशिर
तारेभीमाथि फुल्ने अम्लारी फूल सम्झें
देउरालीमाथि तिमीले चढाएको पाती
अनि
तिम्रा सपनाहरु उडाइलाने हुरी सम्झें
म्यासेञ्जर खोलेर
सातसमुन्द्रपारिबाट
तिमीले फुर्सदमा सम्झेर पठाएका
मेसेजहरु पढें
मेख्ली र सिलामसाक्मा लगाएको
तिम्रो फोटो धेरैबेर हेरिरहें
यति छिट्टै तिमीले
जीवनदेखि मुक्ति पाएको
अप्रत्यासित खबरले
म हजार टुक्रा टुक्रिएँ
म हजार चोइटा चोइटिएँ
सोच्दैछु–
तातो बालुवामाथि
अविस्रान्त डौडिंदाडौडिंदै
सपनाको दूर क्षितिज भेट्न
तिमी जस्तै अस्ताइजानेहरुको ‘कथा’
यो देशले
कहिले पढ्छ होला ?
कहिले बुझ्छ होला ??



















