
काठमाडौं । सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाउँपालिका–२ तातोपानीबाट चीन जोड्ने अन्तर्राष्ट्रिय राजमार्गको कोदारी इको खण्ड भास्सिँदा आज (आइतबार) बिहानदेखि अवरुद्ध छ ।
भोटेकोशी–२ का अध्यक्ष कुमार श्रेष्ठका अनुुसार आइतबार बिहान भोटेकोशी–२ स्थित कोदारीमा अविरल वर्षाका कारण सडक भास्सिएर अवरुद्ध भएको हो । ुअब वर्षा सुरु भयो ,सडक अवरुद्ध भइरहने गर्छ, यसले नाका र सीमावासी प्रभावित बनेका छन्,ु उनले भने ।
शनिबार रातिदेखिको निरन्तर वर्षापछि सडकको संरचना कमजोर बनेर भास्सिएको जनाइएको छ । सडक भास्सिँदा तातोपानी नाका हुँदै सञ्चालन हुने कन्टेनर ढुवानी तथा दुई देशबीचको अन्तर्राष्ट्रिय व्यापार बर्खाअघि दुईपटक अवरुद्व भएको थियोे ।
यसअघि अविरल वर्षापछि कोप्लाङ क्षेत्रमा सडक करिब १५ फिट भास्सिएको थियो, जसका कारण नाका पूर्णरूपमा बन्द भएको थियो ।
स्थानीय प्रशासनले तत्कालीन रूपमा सडक अवरुद्ध भएको जानकारी गराउँदै वैकल्पिक व्यवस्था गर्न कठिनाइ भएको बताएको छ । घटनास्थलमा सडक मर्मतको प्रारम्भिक तयारी भइरहेको छ भने भासिएको क्षेत्रको विस्तृत मूल्यांकनपश्चात् पुनःनिर्माण कार्य सुरु गरिने बताइएको छ ।

























