
झापा । झापाको बिर्तामोडबाट खाद्य सामग्री बोकेर इलामको जितपुरतर्फ जाँदै गरेको प्र१–०१–००१ च ९७७८ नम्बरको पिकअप गाडी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् ।
इलाम नगरपालिका–११ सोयाकस्थित आहालेमा आइतबार साँझ ७:०५ बजेतिर पिकअप आफैँ अनियन्त्रित भई सडकबाट करिब १५० मिटर तल खसेको थियो । दुर्घटनामा गाडीका मालिक ३८ वर्षीय विष्णु पराजुलीको मृत्यु भएको हो । झापा खुदुनाबारी घर भई हाल इलाम देउमाई–९ नवमी बजारमा व्यवसाय गर्दै आएका पराजुलीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
सोही दुर्घटनामा पराजुलीकी ८ वर्षीया छोरी प्रेयन्सा पराजुली र इलाम देउमाई–९ जितपुर बस्ने २२ वर्षीय आइतबहादुर लिम्बू घाइते भएका छन् । उनीहरूलाई उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी अस्पताल ल्याइएको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ ।

























