
धरान । सुनसरीको धरान उपमहानगरपालिकाभित्र जनप्रतिनिधिबीच विवाद बढेको छ । मेयर र उपमेयरबीच संवाद मात्रै टुटेको छैन, एकअर्कामा टकराबसमेत बढेको छ ।
नेतृत्व तहमै बढ्दो टकराबले उपमहानगरको भविष्यलाई संकटतर्फ धकेल्ने कतिपयको विश्लेषण छ । पछिल्लो समय मेयर हर्कराज राई (हर्क साम्पाङ) र उपमेयर अइन्द्र विक्रम बेघाबीचको विवादले उग्ररूप लिएको हो ।
श्रमदान अभियान, चन्दा संकलन, नगर सम्पत्तिको प्रयोगदेखि विपद् व्यवस्थापनसम्मका विषयमा बढ्दो असहमतिले उनीहरू आमनेसामने भएका छन् । पछिल्ला दिनमा सार्वजनिक रूपमै एक–अर्कालाई दोष थोपर्ने क्रमले साम्पाङ र बेघाबीचको विवाद गहिरिँदै गएको छ।
मेयर साम्पाङले मंगलबार पत्रकार सम्मेलन गरी उपमेयर बेघामाथि गम्भीर आरोप लगाएका छन् । उनले उपमेयरलाई काममा सहयोग नगर्ने, राजनीतिक उक्साहटमा चल्ने र इसारामा कराउने पात्रको संज्ञा दिए। ‘उपमेयर अरूको इसारामा कराउने मात्रै काम गर्छन् । काममा साथ दिँदैनन्,’ साम्पाङ भन्छन् ।
साम्पाङको मुख्य गुनासो नगर सम्पत्तिको प्रयोगसम्बन्धी थियो। ‘नगरपालिकाको डोजर र टिपरको चाबी उपमेयरले खोसेर लगे। फिर्ता लिन प्रहरी पठाउँदा पनि फोन उठाएनन् । यो नगरको सम्पत्तिमा प्रत्यक्ष हस्तक्षेप हो,’ साम्पाङले भने ।
उता, उपमेयर बेघाले भने सबै आरोप अस्वीकार गरेका छन् । उनले श्रमदानको नाममा नगरपालिकाको साधनस्रोत अनधिकृत रूपमा प्रयोग भइरहेको भन्दै चाबी आफूले नियन्त्रणमा लिएको बताए। ‘सार्वजनिक सम्पत्तिको संरक्षण हाम्रो जिम्मेवारी हो । निर्णयबिना डोजर–टिपर चलाउन दिन सकिँदैन,’ उनले स्पष्ट पारे।
विवादको मूल जरो श्रमदान अभियान बनेको छ। मेयर साम्पाङले सामाजिक सञ्जाल, क्युआर कोड, नगद तथा चन्दा संकलनमार्फत कोष उठाउँदै आएका छन्। तर, उक्त अभियान पारदर्शिता, वित्तीय लेखाजोखा र कानुनी मान्यताविपरीत रहेको भन्दै व्यापक आलोचना भइरहेको छ । नागरिकहरूबाट उठाएको रकम कसरी खर्च भयो भन्ने विवरण सार्वजनिक नभएपछि साम्पाङ विवादमा पर्दै आएका छन् ।
यसैबीच विपद् व्यवस्थापनसम्बन्धी समन्वयको अभाव पनि बाहिर आएको छ। उपमेयर बेघाका अनुसार गत जेठ १६ गतेको बाढीपछिका ७ दिनसम्म मेयरसँग सम्पर्क गर्न खोज्दा कुनै जवाफ आएन । ‘योजना बनाउन अधिकार छैन । तर, समन्वय गर्न त पाउनुपर्छ । उल्टै मलाई असहयोगीको संज्ञा दिइयो,’ बेघाले भने ।
मेयर साम्पाङले भने विपद्का बेला आफू एक्लै सक्रिय रहेको दाबी गरेका छन् । उपमेयर निरीक्षण टिमसहित पुगेको आरोप लगाउँदै उनले भने, ‘बाढीको बेला मलाई दोष दिन खोजियो ।’
तीन बर्से कार्यकालमा साम्पाङले सडक सरसफाइ, खुला दिसामुक्त धरान र श्रमदानमार्फत जनसहभागिता बढाउने जस्ता पहल गरेका छन्। तर ती अभियान कानुनी ढाँचाभित्र ल्याउन नसकिएको, पारदर्शी बनाउन असफल भएको र स्थायी संरचना खडा नगरेको आरोप उनीमाथि लाग्दै आएको छ । नगर परिषद्बाट अनुमोदनबिना स्रोत प्रयोग भएकोप्रति पनि आलोचना बढेको छ।
उपमेयर बेघा भने आफू प्रक्रियामै दृढ रहेको, सम्पत्तिको दुरुपयोग रोक्न कडाइ गरिएको र काम गर्न खोज्दा उल्टै लक्षित आरोप खेप्नु परेको दाबी गर्छन्। अरु जनप्रतिनिधिहरु मेयर र उपमेयरबीच व्यवहारिक रूपमै संवाद बन्द भएको र विश्वासको वातावरण टुटेको बताउँछन् ।
धरानमा बजेट निर्माणको तयारी भइरहेको संवेदनशील घडीमा शीर्ष नेतृत्वको आपसी दूरीले नीतिगत कामकाज प्रभावित हुन थालेको छ। साम्पाङको शैलीमा देखिएको चासो, गति र जनसहभागिता एकातिर छ भने बेघाको नियमन, विधि र संरक्षात्मक चिन्तन अर्कोतिर। नगरको नेतृत्व तहमै २ धार ल्याएर मेयर र उपमेयर एकअर्कामा जुध्न थालेको अरु जनप्रतिनिधि बताउँछन् ।
‘धरानमा नेतृत्वको सामञ्जस्य खलबलिएको मात्र छैन । नागरिकस्तरमै निराशा र आशंका पैदा भएको छ । अब धरानले अघि बढ्न संवाद र सहकार्यको बाटो खोज्नु आवश्यक छ । नत्र सधैं विवाद बाझिरहने देखिन्छ,’ १ वडाध्यक्षले भने ।
























