
महोत्तरी । महोत्तरीको गौशाला नगरपालिकाकी उपमेयर रेनुकुमारी महतोले नगरपालिका प्रवेश गर्न पाएकी छैनन् । उनलाई मंगलबार बिहानैबाट नगरपालिका प्रवेशमा अवरोध गरिएको हो ।
गौशालाकी उपप्रमुख रेनुको नगरप्रमुख (मेयर) डा. दीपेन्द्र महतोसँग विवाद भएको थियो । उक्त विवादपछि मेयरको निर्देशनमा उपमेयरलाई नगरपालिका प्रवेश गर्न रोक लगाइएको बताइएको हो ।
नगरपालिका प्रवेश गर्न खोज्दा नगरप्रहरीले उनलाई गेटमै रोकेका थिए । गेटमा ताला लगाएर नगरप्रहरी हिँडेका छन् । उपमेयर रेनु भने गेट बाहिरै बसेकी छन् । नगरप्रहरी स्रोतका अनुसार मेयरको निर्देशनपछि गेटमा ताला लगाएर उपेमयरलाई प्रवेश गर्न नदिइएको हो ।
उपप्रमुख रेनुले नगरप्रमुखको निर्देशनमा आफूलाई गेटमा रोकिएको बताइन् । ‘म पनि जनताबाट निर्वाचित भएर आएको हुँ,’ उनले भनिन्, ‘तर, गुण्डागर्दी शैलीमा नगरप्रमुखले कार्यालय प्रवेश गर्न रोक लगाएका छन् ।’
























