
काठमाडौं । संसदमा जारी अवरोध खुलाउने विषयमा सभामुख देवराज घिमिरेले ५ दलसँग छलफल गरिरहेका छन् ।
संसदको चौथो ठूलो दल रास्वपा (राष्ट्रिय स्वतन्त्र पार्टी)ले संसद अवरोध जारी राखेपछि सभामुखले छलफल थालेका हुन् । छलफलमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसिया, उपसभामुख इन्दिरा राना, एमालेका मुख्य सचेतक महेशकुमार बर्तौला, कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरे, माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे, रास्वपा प्रमुख सचेतक सन्तोष परियार र राप्रपा प्रमुख सचेतक ज्ञानबहादुर शाही रहेका छन् ।
सभामुखले संसदमा जारी अवरोध खुलाउने विषयमा गृहमन्त्री रमेश लेखक, सत्तापक्षका मुख्य सचेतक बर्तौला र रास्वपा प्रमुख सचेतक परियारसँग अलग अलग छलफल गरिसकेका छन् ।
यसैबीच, विभिन्न दलका सांसदहरूले सदनमा रास्वपा सांसदहरू निलो स्कार्फमा संसद प्रवेश गरेकोबारे सभामुखको ध्यानाकर्षण गराएका छन् । उनीहरूले संसदमा क्रमशः अमर्यादित गतिविधि भएको भन्दै नियन्त्रणका लागि आग्रह गरे ।
सभामुखले यसबारेमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताउँदै संसदीय मर्यादाभित्र बस्नु स्वयं सांसद र राजनीतिक दलहरूको कर्तव्य रहेको उल्लेख गरे । घिमिरेले आफू स्वनियमनको पक्षमा रहेको बताए ।
























