चिडियाखाना रेडपाण्डाविहीन

Share this
778shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असार ४, बुधबार १५:४५

काठमाडौं । ललितपुरको जावलाखेलस्थित सदर चिडियाखाना अब रेडपाण्डाविहीन बनेको छ । चिडियाखानामा भएको एउटा रेडपाण्डा पनि मरेको छ ।

त्यो रेडपाण्डालाई पटक–पटक चोरीको असफल प्रयाससमेत गरिएको थियो । दुर्लभ वन्यजन्तु रेडपाण्डा शनिबार साढे १२ बजेतिर मरेको चिडियाखानाका प्रमुख सत्यनारायण शाहले जानकारी दिए।

‘१ सातादेखि बिरामी थियो । खानेकुरा कम खाइरहेको थियो । उपचारकै क्रममा क्रममा मृत्यु भयो,’ उनले भने । शाहका अनुसार बिरामी भएपछि औषधि नियमित खुवाउने क्रम चलिरहेको थियो । ‘उपचार जारी रहे पनि सुधार भएको थिएन,’ उनले भने, ‘पोस्टमर्टम रिपोर्टले किड्नी फेल भएर मृत्यु भएको देखाएको छ।’

चिडियाखाना र वन कार्यालयको चिकित्सकले उपचार गरिरहेको भए पनि रेडपाण्डलाई बचाउन नसकिएको शाह बताउँछन् । उनका अनुसार उक्त रेडपाण्डा ११ बर्ष बाँच्यो। रेडपाण्डाको आयु ८ देखि १० वर्ष हुन्छ।

अहिले मरेको रेडपाण्डाको जोडी गत वर्ष मरेको थियो । त्यसपछि उ एक्लै भयो । एक्लै भएकाले पनि लामो समय बचाउन नसकिएको शाहको भनाइ छ । ‘एउटा भएको पनि मर्यो,’ शाह भन्छन्, ‘अब चिडियाखाना रेडपाण्डविहीन भयो ।’

उनका अनुसार वैशाख ३० गते राति १० बजेतिर रेडपाण्डा चोरीको प्रयास गरिएको थियो । पहिलोपटक सफल नभएपछि त्यही दिन चोरीको दोस्रो प्रयाससमेत भएको थियो ।

चोरीको प्रयास गर्ने २ जनालाई प्रहरीले पक्राउ गरेर घटनाको अनुसन्धान गरिरहेको छ । उक्त अनुसन्धान जारी रहेका बेला चोरीको प्रयास गरिएको दुर्लभ वन्यजन्तु रेडपाण्डा मरेको हो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.