
विराटनगर । विराटनगरमा आज (बुधबार) दिउँसो टिपरको ठक्करबाट स्कुटरमा सवार १ जना पुरुषको मृत्यु भएको छ । भित्री पक्की सडक खण्डअन्तर्गत विराटनगर महानगरपालिका–३ पञ्चेश्वर मन्दिरअगाडि टिपरले स्कुटरलाई टक्कर दिएको हो ।
मोरङ ट्राफिक प्रमुख इन्स्पेक्टर राजन लम्सालका अनुसार दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको को १ क ९५३ नम्बरको टिपरले उत्तरतर्फ नै जाँदै गरेको प्र १–०२–०४८ प ३७८१ नम्बरको स्कुटरलाई दिउँसो २ः३० बजेतिर ठक्कर दिएको थियो । टिपरको ठक्करबाट स्कुटरको पछाडि सवार मोरङको सुन्दरहरैँचा नगरपालिका–१२ का अन्दाजी ४८ वर्षीय सुशील बजगाईं घाइते भएका थिए ।
शरीरको विभिन्न भागमा चोट लागेर गम्भीर घाइते उनलाई उपचारका लागि बूढीगंगाको विराट शिक्षण अस्पताल पुर्याउनसाथ चिकित्सकले मृत घोषित गरेको इन्स्पेक्टर लम्सालले बताए । उनका अनुसार दुर्घटनालगत्तै टिपर र चालक मोरङको कानेपोखरी गाउँपालिका–३ का ३३ वर्षीय कूलदीप चौधरीलाई नियन्त्रणमा लिइएको छ ।
दुर्घटनामा स्कुटर चालक २० वर्षीय प्रितम बजगाईंलाई भने केही पनि नभएको प्रहरीले जनाएको छ । मृतक सुशील र स्कुटर चालक प्रितम बाबु–छोरा रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार घटनाको थप अनुसन्धान भइरहेको छ । टिपर चालकको लापरबाहीका कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
यसअघिको समाचारमा मृतकको ठेगाना सुन्दरहरैँचा नगरपालिका–१२ हुनुपर्नेमा अन्यथा भएकाले सच्याइएको छ । स.

























