बागमतीका मेयरविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा, ३ लाख धरौटीमा छाड्न आदेश

Share this
704shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असार ४, बुधबार १७:२३

काठमाडौं । सर्लाहीको बागमती नगरपालिकाका मेयर भरतबहादुर थापालाई धरौटीबापत ३ लाख रूपैयाँ लिएर छाड्न विशेष अदालतले आदेश दिएको छ ।

न्यायाधीश टेकनारायण कुँवर र रामबहादुर थापाको इजलासले सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दामा थापासँग धरौटी माग गरेको हो । धरौटीबापतको रकम लिएर तारेखमा छाड्दै मुद्दाको पुर्पक्ष गर्न विशेष अदालतले आदेश दिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निलम्बित मेयर थापा र उपमेयर लीलाकुमारी मोक्तान, मधेश प्रदेशका पूर्वअर्थमन्त्री विजय यादवसहित ८ जनाविरुद्ध सरकारी सम्पत्ति दुरुपयोग गरी भ्रष्टाचार गरेको आरोपमा ५६ करोड ७१ लाख रुपैयाँ बिगो मागदाबीसहित मुद्दा दायर गरेको थियो ।

निलम्बित मेयर थापाविरुद्ध अख्तियारले विशेषमा दायर गरेको यो तेस्रो मुद्दा थियो । थापा बुधबार विशेष अदालतमा उपस्थित भएका थिए । थुनछेक बहसपछि विशेषले उनलाई धरौटीमा छाड्न आदेश दिएको हो ।

उनीविरुद्ध योसहित अन्य दुई मुद्दा विशेष अदालतमा विचाराधीन छन् । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले थापाविरुद्ध यसअघि विशेष अदालतमा विभिन्न मुद्दा दायर गरेको छ । भरत ताल निर्माण गर्दा अनियमितता गरेको आरोप लागेका थापाविरुद्ध मुद्दा दायर गरिएको थियो ।

भरत ताल निर्माण गर्दा वन मुद्दा लागेका मेयर थापा ५० लाख धरौटी बुझाएर यसअघि रिहा भएका थिए । उनीविरुद्ध वन ऐन अनुसार जिल्ला अदालत सर्लाहीमा मुद्दा दायर भएको थियो । न्यायाधीश जीवनकुमार भण्डारीको इजलासले ५० लाख रुपैयाँ धरौटीमा छाड्न गत सोमबार आदेश दिएको थियो ।

थापा आइतबार अदालत उपस्थित भएका थिए । जिल्ला अदालत सर्लाहीले मागेको धरौटीबापतको ५० लाख बुझाएर छुटेका थापासँग सम्पत्ति शुद्धीकरण मुद्दामा पनि विशेष अदालतले ३ लाख धरौटी माग गरेको छ ।

अनुमति नलिइकन नै वनमा अवैध ढुंगा गिट्टी निकालेर क्षति पुर्याएको आरोपमा उनीविरूद्ध १ अर्ब ४९ करोड ३९ लाख ४३ हजार ३ सय ३७ रुपैयाँ बिगो मागदाबीसहित मुद्दा दायर गरिएको थियो । भ्रष्टाचारको मुद्दा दायर भएपछि थापा निलम्बित छन्।

भरत ताल निर्माणमा अनियमितता गरेको दाबी गर्दै अख्तियारले थापासहित ६ जनाविरुद्ध २०८१ जेठमा विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

थापाले सर्लाहीको बागमती नगरपालिका वडा नम्बर ४ र १२ मा रहेको भरत ताल निर्माण गर्दा ३० करोड २९ लाख रुपैयाँ अनियमितता गरेको दाबी अख्तियारको छ । बागमती नगरपालिकाकी उपमेयर लीलाकुमार मोक्तानविरुद्ध पनि मुद्दा दायर गरिएको थियो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.