
काठमाडौं । सत्तारुढ दलका शीर्ष नेताबीच बुधबार विभिन्न विषयमा छलफल भएको छ । नेपाली कांग्रेस र एमालेका नेताबीच झन्डै ४ घण्टा छलफल भएको हो ।
नेताहरु बालुवाटारमा अपरान्ह ४ बजेदेखि लगभग ८ बजेसम्म छलफलमा बसेका थिए । नेताहरुका अनुसार सरकार सञ्चालन, संसदको अवरोध र विधेयकका विषयमा छलफल केन्द्रित थियो ।
प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का उपप्रधानमन्त्री तथा एमाले उपाध्यक्ष विष्णु पौडेल, कांग्रेस महामन्त्री गगन थापा, गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री आरजु राणा देउवा र उर्जामन्त्री दीपक खड्का छलफलमा जुटेका थिए । कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले सरकारका कामकारबाही र डेलिभरीलाई प्रभावकारी बनाउने, संसद्को अवरोध खुलाएर विधेयकहरू चाँडो अघि बढाउने र बजेटलगायत पछिल्लो समय विकसित राजनीतिक घटनाक्रमका बारेमा छलफल भएको जानकारी दिए ।
संसद्को फुल हाउस र समितिमा भएका विधेयकहरूलाई अघि बढाउनुपर्ने पक्षमा दुई दलका नेताहरू सहमत भएको उनले बताए । सरकारले शिक्षकहरूसँग यही असार १५ भित्र शिक्षा विधेयक पारित गर्ने सहमति गरेको थियो । तर, विधेयकका बारेमा समितिमा छलफल भएको छैन ।
निजामती विधेयकमा ‘कुलिङ पिरियड’को व्यवस्थाले झन अलमल भएको छ । विधेयकहरू अघि बढाउनेबारे गहन छलफल भएको जानकारी खड्काले दिए ।
























