
विराटनगर । प्रतिनिधिसभाका स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले प्रतिनिधिसभा बैठकमा दलितमाथि हिंसा र अन्यायको विषय उठाएका छन् ।
दलित समुदायमाथि भइरहेको हिंसाबारे सरकार मौन रहेको उनको आरोप छ ।
‘यो सरकार आएपछि देशभर दलितमाथि हत्या, हिंसा, बलात्कार भइरहेको छ,’ डा. सिंहले भने, ‘महोत्तरीको रामगोपालपुरमा केही दिनअघि दलित महिलाकी एक महिलामाथि सामूहिक बलात्कार भयो । तर, अहिलेसम्म कारबाही भएन ।’
दलित यो देशको नागरिक होइन र उसले न्याय नपाउनु पर्ने भन्दै उनले सरकारसँग प्रश्न गरे ।
फरक प्रसंगमा उनले पैसा खाएर सवारीचालक इजाजतपत्र बाँडिएकाले दिनहुँ दुर्घटनाका घटना बढिरहेको बताए । ‘पैसा खाएर हातहातमा लाइसेन्स दिइएको छ । टिपर चलाउने अधिकांशको लाइसेन्स नक्कली छ । जसका कारण दिनहुँ दुर्घटनाको घटना बढिरहेको छ,’ उनले भने ।

























