
काठमाडौं । सरकारले संसदलाई हेपेको आरोप प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)ले लगाएको छ ।
प्रतिनिधिसभाको शुक्रबारको बैठक सुरु भएलगत्तै आकस्मिक समय लिएर बोल्दै माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले ‘सरकारले यो सदनलाई यति हेपेको छ कि यसको बयान गरी साध्य छैन’ भनेका छन् । संसदको कार्यसूची बारम्बार आउने र कार्यसूचीमा आएको विषय हटाउने भइरहेको भन्दै माओवादीले आक्रोश व्यक्त गरेको छ ।
पाण्डेले बजेटको मन्त्रालयगत छलफलमा सम्बन्धित मन्त्रीको अनुपस्थिति रहेको भनेर प्रश्नसमेत उठाएका छन् । मन्त्रीको अनुपस्थितिमा छलफल चलाउनु प्रतिनिधिसभा नियमावली विपरीत हुने उनको भनाइ छ ।
नियमावलीलाई अरुले पालना गर्नुपर्ने र सरकारले चाहिँ पालना नगर्दा हुने भनेर उनले टिप्पणी गरेका छन् । समयमा मन्त्रालयगत बजेटको किताब नपाएका कारण सांसदले खर्च कटौतीको प्रस्तावसमेत राख्न नपाएको पाण्डेले बताए ।
संसदमा जारी रहेको अवरोध हटाउन पनि सरकारले अग्रसरता नलिएको उनको आरोप छ । भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा मागेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले संसद बैठक बहिष्कार गरेका छन् ।
विगतमा रास्वपाका सांसदहरू वेल घेरेर बसेका थिए । शुक्रबारबाट रास्वपाका सांसदहरूले पनि सदनको कामकारबाही बहिष्कार गरेका हुन् ।
राप्रपाले भने यसअघिदेखि नै संसद बहिष्कार गर्दै आएको छ । भिजिट भिसा प्रकरणमा संसदीय छानबिन समिति गठन हुनुपर्ने वा उच्चस्तरीय न्यायिक छानबिन आयोग गठन हुनुपर्ने माग रास्वपा र राप्रपाको छ ।
सम्बन्धित मन्त्रीको अनुपस्थितिमै बजेटको मन्त्रालयगत छलफल अघि बढेपछि सत्तारुढ दलकै सांसदले प्रश्न उठाएका छन् । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले सदनमा मन्त्री अनुपस्थित भएको भनेर प्रश्न उठाएका हुन् ।
यस विषयमा सभामुख देवराज घिमिरेले आफ्नो ध्यानाकर्षण भएको बताए । कांग्रेस सांसद खतिवडाले संस्कृतिमन्त्री र युवा तथा खेलकुदमन्त्री तथा अर्का सांसद अमरेशकुमार सिंहले महिला बालबालिकामन्त्री अनुपस्थित रहेको बताए ।
रास्वपा सांसदहरुले आआफ्नो ठाउँबाट उठेर संसद बैठक अवरुद्ध गरेपछि सभामुखले प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम कार्यसूचीबाट हटाइएको जानकारी गराएका थिए । आज प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रश्नोत्तर कार्यक्रम राखिएको दिन रास्वपाका सांसदहरु कालो कपडा र निलो रिबनसहित संसद भवन पुगेका थिए ।
























